प्युठान । प्रतिनिधिसभा सदस्य सुर्य थापाले नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ । स्वास्थ्य बीमामा जनताको पहुँच अभिवृद्धि गर्न स्थानीय तहको भुमिका बारेमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा थापाले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई सबैको घरदैलोमा पुर्याउन सकेमात्र स्वास्थ्यको पहुँच बाहिर रहेका जनतालाई स्वास्थ्यको पहुँचमा जोड्न सकिने बताउनुभयो ।
स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौंको आयोजनामा शनिवार प्युठानमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले स्वास्थ्य बीमामा जनतालाई जोडेर लैजान स्थानीय सरकार बढी चनाखो हुनुपर्ने बताउनुभयो । ‘जनतासंगको निकटता पालिका वडा कार्यालयनै हुन ।’ उहाँले भन्नुभयो, ‘पालिका सरकारले पौरख गर्नुभयो भने स्वास्थ्य बीमामा स्थानीय जनतालाई बढिभन्दा बढी सहभागी गराउन सकिन्छ ।’ स्वास्थ्य बीमालाई अनिवार्य गर्दै सरकारी अस्पतालहरुलाई पनि स्तरवृद्धि गर्नुपर्ने उहाँको भनाई छ ।
अहिलेको अवस्थामा बिमाको कार्ड लिएर सरकारी अस्पतालमा जाने ब्यवस्था मिलाउने कार्यलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ । यो कार्यक्रमलाई सफल/असफल बनाउने भन्ने स्थानीय सरकारको भुमिकामा भरपर्ने भएकोले स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो । स्वास्थ्य बीमाले जिल्लाका स्थानीयलाई निकै मद्दत पुग्ने बताउँदै यसको सहजताको लागि स्थानीय सरकारले समन्वय गर्दै जानुपर्ने थापाले बताउनुभयो ।
त्यस्तै प्रदेशसभा सदस्य तुल्सिराम शर्माले कार्यक्रमलाई सफल बनाउन सबैको सहकार्य आवश्यक पर्ने बताउनुभयो । सबै नागरिकबीच पहुँच बिस्तारमा संघ, प्रदेश र स्थानीय तह मिलेर कार्यक्रम जनतामाझ लैजानुपर्ने शर्माको भनाई छ ।
प्रदेशसभा सदस्य निमा गिरीले स्वास्थ्य बीमा कार्यक्रम जनमुखी बनाउन सचेतनाको कार्यक्रम गाउँ गाउँमा लैजानुपर्ने बताउनुभयो । बीमाले जटिल प्रकारका रोगहरुको सहज उपचारमा सहयोगी हुने भएकोले स्वास्थ्य बीमा कार्यक्रमको अनिवार्यता र दायरा बढाउनुपर्ने धारणा राख्नुभयो ।
बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले सेवा प्रदायक स्वास्थ्य संस्थाको दायरा फराकिलो बनाउनुपर्नेमा सबैको जोड हुनुपर्ने बताउनुभयो । ‘हरेक स्थानीय तहमा एक अस्पताल कार्यान्वयनमा आउनु जरुरी छ ।’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमा नितान्त गरिब र बिपन्नलाई सहयोग पुग्ने कार्यक्रम भएकोले स्थानीय तहले चनाखो भएर लाग्नुपर्छ ।’ हरेक नागरिक अनिवार्य स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने कानुनी ब्यवस्था भएपनि गाउँसम्म सचेतना नपुग्दा केही जटिलता भएको उहाँको भनाई छ ।
स्वास्थ्य बिमा बोर्डका सदस्य चन्द्र बहादुर थापाले वार्षिक कार्यक्रम अन्तर्गत प्युठान जिल्लामा पहिलोपटक यो कार्यक्रम गरिएको बताउनुभ्स्यो । स्वास्थ्य बीमाले सबै नेपालीलाई स्वास्थ्यको पहुँचमा जोड्ने र ब्यक्ति तथा परिवारको स्वास्थ्य र आर्थिक जोखिमलाई न्यूनीकरण गर्दै लैजाने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयको निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले अस्पतालमा भएको समग्र गतिविधिको बारेमा जानकारी गराउदै आर्थिक वर्ष २०७९/०८० देखि हाल सम्म १७ हजार ८ सय २६ जना बिरामीले स्वास्थ्य बीमा कार्ड प्रयोग गरेर उपचार सेवा लिएको बताउनुभयो । अस्पतालमा विशेषज्ञ सहितको चिकित्सक सेवा भएपनि अत्यधिक बिरामीको चाप बढ्दा बेड अभावमा बिरामीलाई उपचारमा समस्या रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, अस्पताल व्यबस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, पालिकाका स्वास्थ्य शाखा प्रमुख, सरोकारवालाको उपस्थिति रहेको थियो ।
