प्युठान । जिल्लामा किसानहरुले भोगिरहेको समस्याको बारेमा अखिल नेपाल किसान महासंघले सम्वन्धित निकायलाई जानकारी गराउँदै समस्या समाधानका लागि आग्रह गरेको छ । आज आईतबार जिल्लाको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पुगेर महासंघले ध्यानाकर्षण गराएको हो ।
महासंघले एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका प्रमुख भाष्कर पौडेललाई लम्पी स्किन रोग विरुद्धको खोप सरल र सहज रुपमा उपलब्ध गराउन समन्वयकारी भूमिका खेल्न आग्रह गरेको छ ।
त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाई प्युठानका प्रमुख चुमानसिंह गिरीलाई धानबालीमा देखिएको रोग निवारणका लागि प्राविधिक सहयोग गर्न आग्रह गरेको अध्यक्ष विष्णु केसीले बताउनुभयो ।
