> स्थानीय सरकार > गाउँ फर्किन थालेपछि व्यवस्थापनमा चुनौती


गाउँ फर्किन थालेपछि व्यवस्थापनमा चुनौती

महेश थापा
प्यूठान(बाहाने), १५ बैशाख ।
एक महिना बढी लकडाउन भएपछि मानिसहरु गाउँ फर्किन थालेका छन् । विभिन्न कामको शिलशिलामा जिल्ला बाहिर पुगेका मानिसहरुको खर्च सकिन थालेको भन्दै पछिल्ला केहि दिन गाउँ फर्किनेको संख्या बढ्दै गएको छ ।

नौबहिनी गाउँपालिकामा शनिबार मात्र ४८ जना मानिस काठमाण्डौबाट गाउँ आएका छन् । विद्यार्थी, मजदुर लगायत गरि ४८ जनालाई गाउँपालिकाले यातायातको आधा रकम व्यहोरेर गाउँमा ल्याएको हो । तर गाउँमा आएका उनीहरुलाई राख्नका लागि पर्याप्त क्वारेन्टाइनको व्यवस्थापन नहुँदा समस्या भने देखिन थालेको छ ।

इटाभट्टामा काम गर्ने मजदुरलाई मालिकले पठाइदिन्छु भनेर फोन आएको छ, गाउँपालिका अध्यक्ष शिव रिजालले भन्नुभयो, गाउँमा मानिस धेरै आउन थालेपछि हामीले क्वारेन्टाइनको बेड संख्या बढाउन थालेका छौं । २८ देखि ३२ जना मजदुरलाई मालिकले पठाउन थालेको अध्यक्ष रिजालले जानकारी दिनुभयो । वडा वडामा क्वारेन्टाइन बनाउन थालिएको छ ।

नौबहिनी गाउँपालिका भित्र अहिले बाहाने(गंगा मावि र सभाहल)मा ४३ जना, फोप्लीमा ८ जना, लुङको जनज्योति माविमा १३ जना, स्याउलिवाङको शिव माविमा १८ जना गरेर ८२ जना क्वारेन्टाइनमा छन् । काठमाण्डौ आएका व्यक्तिलाई वडामा रहेको क्वारेन्टाइनमा पठाइएको छ । क्वारेन्टाइन नभएको वडाका व्यक्तिलाई बाहानेमा राखिएको छ ।

इटाभट्टामा काम गर्ने मध्ये हिजो आइतबार थप ५ जना काठमाण्डौबाट आएका छन् । उनीहरुलाई बाग्दुलाबाट गाउँपालिकाले गाडीको व्यवस्था गरेर खवाङमा पठाइएको छ । उनीहरु दुर्गा माविको क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा थप तीन जना व्यक्ति थपिएका छन् । भागेर घर जान थालेका तीन जनालाई प्रहरीले समातेर बाहानेको क्वारेन्टाइनमा राखेको हो । उनीहरु अर्घाखाँचीबाट आएका थिए ।

पालिका क्षेत्र भित्रका बजारमा क्वारेन्टाइनका लागि चाहिने म्याट लगायतका सामाग्री नपाउँदा समस्या भएको छ । फोप्लीमा लुप्लुङ मावि र लुङको जनज्योति माविको क्वारेन्टाइनका लागि स्थानीयले लत्ताकपडा सहयोग गरेको स्वास्थ्य संयोजक ऋषिराम शर्माले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा बस्नेहरुका लागि पालिकाले खानाको व्यवस्था मिलाएको छ ।

बाँचिएला भनेर गाउँ फर्किए
नौबहिनी गाउँपालिकाका शिव सुनार कालिमाटीमा दैनिक ज्याल मजदुरीको काम गर्नुहुन्थ्यो । एक महिना बढीको लक डाउनले काम बन्द भएपछि कोठाको रासन पनि सकिन थाल्यो । पालिका भित्र आएपछि जसोतसो दुःख सुःखले बाँचिएला भनेर फकिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, अब सुःख दुःखले बाँचिएला, १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किन्छौं ।

स्याउलिवाङका डोर बहादुर घर्तिमगर दुई महिनादेखि काठमाण्डौमा हुनुहुन्थ्यो । वैदेशिक रोजगारीका लागि प्रक्रिया मिलाउन जानुभएका उहाँ लकडाउनले गर्दा उतै बस्नुपर्यो । दुई महिना अघि गएको थिए, उहाँले भन्नुभयो, होम क्वारेन्टाइनमा बस्न सकिन्छ भनेर फर्केको हो । अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने रहेछ, सरकारको निर्णय मान्नैप¥यो ।, उहाँले भन्नुभयो ।

यसअघि नौबहिनीमा एक जना पैदल र चार जना साइकलमा काठमाण्डौबाट आएका थिए । कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले लकडाउन जारी राखेपनि मानिसहरु आ आफ्नै समस्याले गर्दा घर फर्किन थालेका छन् । जसले गर्दा एकतर्फ कोरोनाको जोखिम बढाएको छ भने व्यवस्थापनमा समेत चुनौती थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *