प्यूठान । अघिल्लो पटक स्थानीय तहको निर्वाचनमा भोट हालेका कतिपय व्यक्तिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भोट हाल्न पाएनन् । फोटो सहितको मतदाता नामावलीमा नाम नभएपछि कतिपय व्यक्ति दिनभर लाईन बसेर घर फर्किन परेको थियो ।
मतदाता नामावलीमा भएको आफ्नो विवरण अद्यावधिक भए/नभएको बारेमा मतदाताले चासो नदिँदा त्यस्तो प्रकारको समस्या देखिएको थियो । अहिले निर्वाचन आयोगले पुनः मतदाता नामावलीको अद्यावधिक गर्दैछ । यहि फागुन २२ गतेदेखि चैत १ गतेसम्म नामावली अद्यावधिक गर्ने कायक्रमको तालिका बनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी देविराम पाठकले फागुन २२ गते वडा कार्यालयमा मतदाता नामावली प्रकाशन गरिने भएकोले त्यहाँ पुगेर आफ्नो नामावलीको रुजु गर्न आग्रह गर्नुभएको छ । उक्त नामावलीमा नाम थर फरक परेको, मतदाताको मृत्यु भएको, बसाई सरेको, झुटो विवरण दिएर नामावली बनाएको पाईएमा सच्याउनका लागि निवेदन दिन सकिने जानकारी दिनुभयो ।
नयाँ मतदाताले अनलाईनबाट नाम दर्ता गर्न सक्ने
अहिले जिल्ला निर्वाचन कार्यालयमा अनलाईन मार्फत मतदाता नामावली संकलनको काम भइरहेको छ । माघ १ गतेदेखि अनलाईन मार्फत नाम दर्ता भइरहेको जिल्ला निर्वाचन अधिकारी पाठकले जानकारी दिनुभयो ।
अनलाईनबाट नाम दर्ता गराउन थप सहज कसरी बनाउने भन्ने विषय समेत छलफल आवश्यक रहेको उहाँले औल्याउनुभयो । आज मतदाता नामावली अद्यावधिक कार्यक्रमबारे कार्यालयले अन्र्तक्रिया गरेर राजनीतिक दल, सरोकारवाला निकायलाई जानकारी गराएको थियो ।