प्यूठान । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले प्रतिनिधि सभामा प्यूठान र बाग्लुङबाट चुनाव लड्ने गरि गठबन्धनमा दावी गरेको बताउनुभएको छ । अझै गठबन्धनबीच सिट बाँडफाडको टुंगो लागिनसकेको अवस्थामा पार्टीले आफ्नो दावी कायमै राखेको महान्त्री सिंहले स्पष्ट पार्नुभएको छ ।
गठबन्धनमा सिटको विषयमा कुरा नमिले पार्टीले एक्लै चुनावमा सहभागी हुने नेता सिंहले जानकारी दिनुभयो । गृह जिल्ला प्युठानमा आज प्रगतिशिल पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिंहले प्यूठानबाट प्रतिनिधिसभा उम्मेदवार दुर्गा पौडेलको नाम आफूसँग जोडेर परिवारवादको आरोप लगाएको विषयको खण्ड्न गर्नुभयो । उहाँले उक्त आरोप निराधार रहेको भन्दै पौडेलकै राजनीतिक भूमिकाले गर्दा उम्मेदवार भएको र पौडेललाई उम्मेदवार बनाउन आफ्नो भूमिका नरहेको दावी गर्नुभयो ।
प्रतिगमनको खतरा कायमै
महामन्त्री सिंहले देशमा प्रतिगमनको खतरा कायमै रहेको भन्दै उक्त प्रतिगमन विरुद्ध लड्न आफ्नो पार्टी गठबन्धनमा सहभागी भएको बताउनुभएको छ । महामन्त्री सिंहले गणतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको हो ।
अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राजावादी दलहरु प्रतिगमनका लागि चलखेल गरिरहेको उहाँको आरोप छ । जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध उनीहरु लागिरहेको सिंहको भनाई छ । उहाँले एमालेले आगामी निर्वाचनमा बहुमत प्राप्त गरेमा देश खतरामा पर्ने समेत बताउनुभयो ।