> राष्ट्रिय > काठमाण्डौबाट प्यूठान साईकलमा


काठमाण्डौबाट प्यूठान साईकलमा

कमल बि.क.

प्यूठान, २ वैशाख ।
काठमाण्डौबाट साइकलमा घर आएका नौबहिनी गाउँपालिकाका ४ जना युवालाई गंगा मा.वि. बाहानेको क्वारेन्टाइनमा राखिएको छ ।कामको शिलशिलामा काठमाण्डौमा रहेका उनीहरु लामो समय लक डाउन भएपछि ३ दिन लगाएर काठमाण्डौबाट प्यूठान आएका हुन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीले जानकारी दिनुभयो ।

कसरी आए साइकलमा ?
बाहानेबाट महेश थापाको विवरण :
चार जना युवा मध्ये एक जना कोरीएन भाषा पढ्ने गर्थे । तीन जना कालिमाटीमा दैनिक मजदुरीको काम गर्ने गर्थे । चारै जना नौबहिनी गाउँपालिका २ लिघाका युवा हुन् । लकडाउनले खानबस्न समस्या हुँदै गयो र उनीहरुले घर फर्किने उपाय निकाले । पुरानो साइकल किन्ने ।

पुरानो साइकल किनेपछि यात्रा शुरु भयो प्यूठानको । यात्राको क्रममा उनीहरु विभिन्न ठाउँमा प्रहरीको सहारामा बास बसे । प्रहरीले खानाको व्यवस्था पनि गर्यो । प्यूठानको दम्तीसम्म उनीहरु साइकलमै आए । काठमाण्डौबाट प्यूठान आउन तीन दिन लागेको उनीहरुले बताएका छन् ।

जिल्ला भित्रिने क्रममा दरभानमा जाँच गरेपछि जिल्ला प्रहरीसँग सम्पर्क गरेर प्रहरी चौकीले अगाडी बढ्न दियो । खप्रेंगखोलासम्म साइकलमै आएका थिए । त्यहाँबाट प्रहरी, पालिका र स्थानीय समाजसेवी शंकर केसीको समन्वयमा गाडीबाट उद्धार गरेर बाहाने ल्याइएको हो । गएराती १ बजे बाहाने आएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको र क्वारेन्टाइनमा राखिएको अध्यक्ष शिव रिजालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *