समाज

चाडपर्वमा सुरक्षा सतर्कता बढाउँदै प्यूठान प्रहरी, बजारदेखि सडकसम्म निगरानी

प्यूठान । प्यूठान प्रहरीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै जिल्लाको शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरी अधिकारीले शुक्रबार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै चाडपर्व विशेष सुरक्षा योजना तथा प्रहरी कार्यालय र मातहतका इकाइहरूले भदौ महिनादेखि हालसम्म गरेका कामको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्था, अपराध नियन्त्रण, प्रहरी सेवा प्रवाह तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, बजार तथा भीडभाड हुने क्षेत्रको निगरानी, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रहरीले प्राथमिकतामा राखेको छ ।

त्यसैगरी, यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने तथा चाडपर्वका बेला हुन सक्ने सुरक्षा जोखिम न्यूनीकरण गर्न अपनाइने उपायबारे पनि सञ्चारकर्मीलाई जानकारी गराइएको थियो ।

Related Articles

Back to top button