स्थानीय सरकार

सरुमारानी गाउँपालिकाको वार्षिक समीक्षा : पाँच वर्षदेखि शून्य बेरुजु

प्यूठान । सरुमारानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रम, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिको वार्षिक समीक्षा गरेको छ । गाउँपालिकाले वर्षभरि सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती र आगामी कार्यदिशा बारे समीक्षा गरेको हो ।

वार्षिक समीक्षा कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण आचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले सरुमारानी गाउँपालिका लगातार पाँच आर्थिक वर्षदेखि शून्य बेरुजु कायम गर्न सफल भएको जानकारी दिनुभयो ।

आचार्यले गाउँपालिकाबाट सञ्चालित कार्यक्रम तथा गतिविधिको विषयगत क्षेत्रका आधारमा प्रगति विवरण प्रस्तुत गर्दै आर्थिक, सामाजिक विकास, पूर्वाधार, सेवा प्रवाह लगायत क्षेत्रमा भएका काम र उपलब्धिबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकामा सञ्चालनमा रहेका साझेदार संस्थाका कार्यक्रमको समेत समीक्षा गरिएको थियो । जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पिडा) कार्यक्रमका फिल्ड संयोजक मोहन सुवेदी र हेफर प्रोजेक्ट कार्यक्रमका संयोजक वेदराज पाण्डेले आ–आफ्ना कार्यक्रमको वार्षिक प्रगति तथा उपलब्धि प्रस्तुत गर्नुभएको थियो ।

समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाले आगामी दिनमा गाउँपालिका, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्र र समुदायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रमले विगतका गतिविधिको समीक्षा गर्दै आगामी वर्षका योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन आधार तयार गर्ने सहभागीहरूले बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सरुमारानी गाउँपालिका सभापति कृष्णप्रसाद आचार्य, नेकपा एमाले सरुमारानी गाउँपालिका सचिव टीकाराम पल्ली तथा नेपाल कम्युनिष्ट पार्टी सरुमारानी गाउँपालिका संयोजक गुप्तबहादुर राना लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारी, विषयगत समितिका संयोजक, वडा अध्यक्ष तथा जनप्रतिनिधि, सरकारी तथा वित्तीय संघसंस्थाका प्रतिनिधि, विषयगत सञ्जालका संयोजक तथा प्रतिनिधि, साझेदार संस्थाका प्रतिनिधि, पेशागत संघसंस्थाका प्रतिनिधि, शाखा प्रमुख तथा कर्मचारीलगायत विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।

Related Articles

Back to top button