स्थानीय सरकार

गौमुखीको ३ र ६ नम्वर वडामा सार्वजनिक सुनुवाई सम्पन्न

प्यूठान । गौमुखी गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२।०८३ मा सार्वजनिक सेवा प्रवाह र कार्यसम्पादन सम्वन्धी वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार दुई वटा वडामा सम्पन्न भएको छ । गौमुखी गाउँपालिका ३ नम्वर वडा कार्यालय रजबारा र ६ नम्वर वडा कार्यालय लिवाङमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

गौमुखी गाउँपालिकाको आयोजना तथा बागेश्वरी अशल शासन क्लव (बास नेपाल) जिल्ला शाखा प्यूठानको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्र्तगत वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । वडा तहबाट प्राप्त गुनासा, सुझाव, जिज्ञासा, विकास निर्माणको अवस्थालाई केन्द्रित गरेर पालिका स्तरीय सार्वजनिक सुनुवाई गरिने गाउँपालिकाले जनाएको छ ।

३ नम्वर वडा कार्यालयमा वडा अध्यक्ष जंग बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा मोटरबाटो मर्मत, विद्यालयको भौतिक पूर्वाधार, विद्युतको समस्या, खानेपानी समस्या, सामुदायिक विद्यालयमा शुल्क उठाउने लगायतका सवाल सहभागीले उठाएका थिए । कार्यक्रमको सहजीकरण विजयसिंह भारती र राजेश जिसीले गर्नुभएको थियो ।

त्यसैगरी ६ नम्वर वडा कार्यालय लिवाङमा भएको कार्यक्रममा खानेपानी समस्या, लक्षित वर्गको बजेट कार्यान्वयन, आईरन चक्की अभाव, स्वास्थ्य आमा समुहको अभिमुखिकरण, सडक तथा पुल निर्माण लगायतका विषयमा सहभागीले सवाल उठाएका थिए । कार्यक्रमको सहजीकरण जुमानसिंह केसी र सुजल श्रेष्ठले गर्नुभएको थियो ।


कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, आमा समुह, महिला समुह, बालबालिका, विद्यालयका प्रतिनिधि लगायतको सहभागिता थियो ।

 

विहीबार गौमुखी गाउँपालिकाको ५ नम्वर वडा खुङ र ७ नम्वर वडा नारिकोटका सार्वजनिक सुनुवाई हुने आयोजकले जनाएको छ । मंगलबार वडा नम्बर ५ पुजामा सम्पन्न भएको छ ।

Related Articles

Back to top button