> समाज > पालिकामा महिला सहभागिता घट्यो


पालिकामा महिला सहभागिता घट्यो

प्युठान । महिला सदस्य र दलित महिला सदस्य बाहेक जिल्लामा महिला जनप्रतिनिधिको सख्या न्यून देखिएको छ । जिल्लाका नौ वटा स्थानीय तहमा दुई पालिकामा मात्र महिला उपाध्यक्ष निर्वाचित भएका छन् । सरुमारानी गाउँपालिका र नौबहिनी गाउँपालिकामा उपाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भएका हुन् ।

 

सरुमारानी गाउँपालिकामा बसन्ता खड्का उपाध्यक्ष निर्वाचित हुनुभएको छ । नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी खड्का विजयी हुनुभएको हो । त्यसैगरि नौबहिनी गाउँपालिकामा नेकपा एमालेबाट विष्णा थापा केसी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

अरु सवै पालिका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षमा पुरुष जनप्रतिनिधि निर्वाचित भएका छन् । अघिल्लो स्थानीय तहमा ७ वटा स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष महिला जनप्रतिनिधि निर्वाचित भएका थिए । अहिले दलहरुबीच चुनावी तालमेल र गठबन्धन हुँदा महिला सहभागिता घटेको हो ।

 

त्यसैगरि, ६४ वडामध्ये दुई वटा वडामा महिला वडा अध्यक्ष निर्वाचित भएका छन् । प्युठान नगरपालिका १ नम्वर वडा अध्यक्षमा साधना राउत र सरुमारानी गाउँपालिका ५ नम्वर वडामा लक्ष्मी पल्ली मगर वडा अध्यक्ष बन्नुभएको छ । अघिल्लो स्थानीय निर्वाचनमा सवै वडामा पुरुष वडा अध्यक्ष निर्वाचित भएका थिए ।