प्यूठान, २६ साउन । ०७१ सालमा सदरमुकामको विभिन्न स्थानमा जडान गरिएको सोलार सडकबत्ति विग्रिएर बल्न छाडेको वर्षौ भएपनि मर्मत हुन सकेको छैन ।

सदरमुकामको मुख्य चोकचोकमा र यहाँ रहेका पुरातात्विक मठ मन्दिरमा जडान गरिएको बत्ति नबल्दा सदरमुकाम अन्धकार हुने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल बैंक लिमिटेड, जिल्ला समन्वय समिति, महेन्द्र नमुना माध्यमिक विद्यालय, गणेश मन्दिर, बसपार्क लगायत मुख्य ठाउँमा जडान गरिएको सोलार बत्ति मर्मतमा सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
बैकल्पिक ऊर्जा प्रर्बद्धन केन्द्र नेपालको अनुदान सहयोगमा सदरमुकामका १० स्थानमा सोलारबत्ति जडान गरिएको हो । बैकल्पिक ऊर्जा प्रर्बद्धन केन्द्रको ९ लाख ९९ हजार ९ सय रुपिँयाको आर्थिक अनुदान र तत्कालिन खलंगा गाविसले ३० हजार रुपियाँ लगानी गरेर बत्ती जडान गरिएको थियो ।
सम्भावित अपराधिक गतिविधि हुन नदिनका लागि बत्ति जडान गरिएको थियो । सोलार बत्तिले विभिन्न जात्रा सञ्चालन गर्न समेत रातीमा सजिलो हुने गरेको थियो । तर केहि वर्षअघिदेखि विग्रिएर जात्रा सञ्चालन गर्न पनि समस्या भएको स्थानीयको भनाई छ । सडक सोलार बत्तिको विषयमा हालै खलंगा सरोकार समुहले समेत ध्यानाकर्षण गराएको थियो ।

सार्वजनिक सुनुवाईमा सोलार बत्तिको सवाल उठेको मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो । सडक बत्ति मर्मत र नयाँ जडान गर्ने गाउँ कार्यपालिका बैठकले निणर्य गरेको उहाँले जानकारी दिनुभयो ।

