प्यूठान, ६ फागुन । प्यूठानमा पाँचौ निर्वाचन दिवसको अवसरमा निर्वाचन आचार संहिताको विषयमा सरोकारवालासँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालय प्यूठानले आज राजनीतिक दल र पत्रकारलाई आगामी निर्वाचनका लागि निर्वाचन आयोगले बनाउन लागेको आचार संहिताको विषयमा जानकारी गराउँदै उक्त विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले निर्वाचन आचार संहिताको विषयमा मतदातालाई समेत जानकारी हुन आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचन मतदाता शिक्षा सञ्चालन गर्दा आचार संहिताको विषय समेत जोड्नुपर्ने उल्लेख गर्नुभयो ।
यसअघि हिजो जिल्लाका कार्यालय प्रमुखलाई यस विषयमा जानकारी गराइएको निर्वाचन कार्यालय प्यूठानका कार्यालय प्रमुख राजन श्रीवास्तवले जानकारी दिनुभयो ।
नेपालमा २०७३ सालदेखि फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउन लागिएको हो । फागुन ५, ६ र ७ गते तीन दिन विविध कार्यक्रम गरेर निर्वाचन दिवस मनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।
