> साहित्य सृजना > हो म त्यही शिक्षक हुँ


हो म त्यही शिक्षक हुँ

राज्यबाट हेपिएको
कर्मचारीतन्त्रबाट दवाइएको
नगरेपनि राजनीतिको विल्ला भिराइएको
राज्यकै वरियताक्रममा नपारिएको
तर अविचलित स्वाभिमानमा बाँचेको
हो म त्यही शिक्षक हुँ ।

थाहा छ तिमीलाई ?
तिमीले बाङ्गाटिङ्गा अक्षर लेख्दै गर्दा
त्यसो होइन बाबु यसरी लेख्नुपर्छ भन्दै
हात समाइ समाइ सिकाएको कुरा
तिमी गलत बाटोमा अग्रसर हुँदै गर्दा
तिम्रो मार्ग परिवर्तन गरी
सुमार्गमा हिड्न सिकाएको कुरा
सधैँ यस्तै काममा लिन भइरहने
हो म त्यही शिक्षक हुँ ।

म वा मजस्तै शिक्षकले सिकाएर अगाडी बढेकाहरु
राज्य सञ्चालक अनि नीति निर्माताहरु
कानुन कार्यान्वयनकर्ता अनि व्यख्याताहरु
मैले त सिकाएको थिइन नि राष्ट्रघात गर्न
कहिल्यै यो पनि भनिन झट्ठा आश्वासन वाँडेर नि चुनाव जित्न
देशलाई वन्धक बनाई आफ्नो स्वार्थपूर्ति गर्न
म त अझै उस्तै सिकाउदै छु
हो म त्यही शिक्षक हुँ ।

मैल वलभद्र भिमसेनका कुरा कुरा सुनाउदा
उत्सुक भएर भन्थ्यौ हो सर हामी पनि त्यस्तै बन्नुपर्छ
यो देशको रक्षा गर्नुपर्छ
तर आज
लिपु लेख लिम्पीयाधुरा मात्रै होइन ठाउँ ठाउँमा नेपाली भूमी मिचिदा
तिमीले त सबै विर्सेछौ आफ्नो स्वार्थसंग राष्ट्रियता साटेछौ
तिमी साम्राज्यवादलाई खुसी वनाउने दाउमा
राष्ट्रघाती एम सी सी पारित गर्न मरिहत्ते गर्दैछौ
तर म त्यही राष्ट्रियताको गीत गुनगुनाउदै छुँ
जुन तिमी र म संगसंगै गाउने गथ्र्यौ
हो म त्यही शिक्षक हुँ ।

हो म सम्मानित छैन , मलाई ग्लानी पनि त छैन
किनभने मसंग भौतिक सम्पत्ति नभएपनि आत्मस्वाभिमान त छ
कसैलाई दुईचार रुपैया दिन नसकेपनि ज्ञानरुपी धन त बाँडेकै छुँ
झुट्ठा आश्वासन बाँडी फोस्रा भाषण पनि त गरेको छैन
सधैँ सत्यको पक्षमा वकालत गर्छु, सामाजिक उत्तरदायित्व वहन गरेकै छुँ
कोही कसैको पक्षमा वोल्नै पर्ने नुन पनि त खाएको छैन
हो म त्यही शिक्षक हुँ ।

        ध्रुब गिरी
         अध्यक्ष
प्रविधिमैत्री शिक्षक समाज, प्यूठान         

Leave a Reply

Your email address will not be published. Required fields are marked *