प्यूठान । प्यूठानका युवा नेता श्रीधर रोका नेतृत्वको टोली कठिन र जोखिमपूर्ण यात्रा पार गर्दै रसुवा जिल्लाका बाढीपीडितको उद्धार तथा राहतका लागि वेत्रावति पुगेको छ । टोलीले उत्तरगया गाउँपालिका स्थित बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्नुका साथै करिब एक लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।
टोलीले उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल र उपाध्यक्ष चमेली गुरुङलाई राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ । बाढीबाट प्रभावित तथा विस्थापित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर राहत सामग्री जुटाइएको हो । रोका नेतृत्वको टोलिमा जिबन गौतम, सुरज मगर, सागर पण्डित, प्रकास पौडेल, बिबेक बिस्वकर्मा सहभागी रहेका छन् ।
राहत सामग्रीमा जीवनजल, ग्लोभ्स, स्यानिटाइजर, मास्क, सिटामोल, खानेपानी, चाउचाउ, बिस्कुट, नुहाउने तथा लुगा धुने साबुन, ब्रस, कोलगेट र स्याम्पु लगायतका सामग्री रहेका छन् । करिब ५० परिवारलाई पुग्ने गरी सामग्रीको छुट्टाछुट्टै सेट तयार पारेर वितरण गरिएको टोलीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गरेपछि नेता रोकाले अवस्था निकै हृदयविदारक रहेको बताउनुभयो । बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा पुग्दा पीडाको अवस्था निकै भयावह देखिएको उहाँको भनाइ छ । “घटनास्थलमा पुग्दा अवस्था निकै हृदयविदारक देखियो । सबैमा निरासा छ । प्रयाप्त मात्रामा सुरक्षाकर्मीको उपस्थिति छैन । लासहरु उठ्न सकेको छैन । । बाँचेकाहरूको व्यवस्थापन समेत सहज रूपमा हुन सकेको छैन” ,रोकाले भन्नुभयो ।
उहाँका अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सबैको साझा दायित्व भएकाले आफूहरूको टोली जोखिम मोलेर भए पनि प्रभावित क्षेत्रमा पुगेको हो । बाढीका कारण घरबार गुमाएका तथा प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, स्वास्थ्य सामग्री र दैनिक उपभोग्य वस्तुको तत्काल आवश्यकता देखिएको टोलीले जनाएको छ । राहतसँगै प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्ने र आवश्यक सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले स्थलगत अनुगमन गरिएको रोकाले बताउनुभयो ।
राहत सामग्री बुझ्दै उत्तरगया गाउँपालिकाका अध्यक्ष अर्याल र उपाध्यक्ष गुरुङले विपद्को समयमा सहयोग लिएर प्रभावित क्षेत्रमा पुगेकोमा टोलीप्रति आभार व्यक्त गर्नुभयो ।
टोलीले प्रभावित क्षेत्रको अवस्था बारे थप जानकारी संकलन गर्दै आगामी दिनमा आवश्यक सहयोगका लागि पहल गर्ने जनाएको छ ।

