> राष्ट्रिय > रवी लामिछाने प्यूठानमा : ‘सनरुफ’बाटै भोट अपिल गरेर फर्किए


रवी लामिछाने प्यूठानमा : ‘सनरुफ’बाटै भोट अपिल गरेर फर्किए

प्यूठान । चुनावी प्रचारका लागि देश दौडाहमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले शुक्रबार प्यूठानमा भएको चुनावी सभालाई सम्बोधन गर्नुभएको छ । दाङबाट प्यूठान आउनुभएका उहाँले गाडीको ‘सनरुफ’बाटै पाँच मिनेट भोट अपिल गरेर फर्किनुभएको छ ।

 

विजुवार स्थित गणतान्त्रिक खेलकुद मैदान अगाडीको चौरमा चुनावी सभाको आयोजना गरिएको थियो । तर उहाँ मञ्चमै पुग्नुभएन । गाडीको सनरुफमै माईक ल्याउन भन्नुभयो । सम्बोधन गरे र फर्किनुभयो । ‘म माथि अन्याय भएको छ ।’ ,उहाँले भन्नुभयो, ‘म त्यसको जवाफ दिन आएको हैन, त्यसको जवाफ जनताले फागुन २१ गते दिने छन् ।’

 

पार्टीका तर्फबाट प्यूठानका उम्मेदवार सुशान्त बैदिकलाई विजयी गराउन भन्दै उहाँले भोट अपिल गर्नुभएको हो । ‘म धेरै व्यस्त थिए, देशका विभिन्न भागहरुमा जानुपर्ने थियो, आफ्नै निर्वाचन क्षेत्रमा पनि जान पाएको छैन ।’ ,पाँच मिनेटको सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘तर प्यूठान आउनै पर्ने थियो, मैले प्यूठानको माटो छुनै पर्ने थियो ।’ प्यूठानी जनताको ढुकढुकी छाम्न आफु प्यूठान आएको उहाँको भनाई थियो ।

 

गाडीमा रवीसँगै प्यूठानका उम्मेदवार बैदिक र पार्टी नेता प्रमोद न्यौपाने सवार हुनहुहुन्थ्यो । प्यूठान आउँदै गर्दा चोक चोकमा समर्थकहरुले नारावाजी गरेका थिए ।