> आर्थिक/बिकास > नागबेली सहकारी जुम्रीको आठौं साधारण सभा सम्पन्न, १ करोड बढि शेयर पुँजी


नागबेली सहकारी जुम्रीको आठौं साधारण सभा सम्पन्न, १ करोड बढि शेयर पुँजी

प्यूठान । नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. जुम्री प्यूठानको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि प्यूठान नगरपालिका प्यूठानका प्रमुख विष्णु बहादुर योगी रहनुभएको थियो ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख योगीले सामाजिक मूल्य मान्यता कायम राख्न सहकारीले सामुहिक एकता कायम राख्नुपर्नेमा जोड दिनुभयो । सहकारीमा जोखीम ऋण न्यून रहेको औल्याउँदै उहाँले भाका नाघेको ऋण घटाउने र शेयर पुँजी बृद्धि गरि सहकारी लाभांश बृद्धिमा अघि बढ्नुपर्ने बताउनुभयो ।

 

सहकारीले यस वर्ष शेयर पुँजी ५४ हजार ५ सयले बृद्धि गरि १ करोड ५ लाख ८० हजार ६०० कायम गरेको छ । कुल बचत रकम रु दुई करोड ९५ लाख १९ हजार २३६ रुपैया पुगेको सहकारीले जनाएको छ । सहकारी संस्थाबाट जुम्रीमा संचालन गरिएको थोक बजारमा सुपथ मुल्यमा माछा, कुखुरा, रागा, खसी मासु पसल, कृषि मेसिनरी औंजार, रासायनिक मल विक्रि, महिला उद्यमशिलता सामाग्रीहरु लगायत सेवाहरु प्रदान गर्दै आएको संचालक समितिका सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

 

आर्थिक वर्ष ०८१/८२ मा रिड परियोजनाको सहकार्यमा ३९ जना कृषकहरुलाई भैंसिपालन, दुध उत्पादन तथा बजारीकरण, प्यूठान नगरपालिकाको सहकार्यमा १२ जना कृषकहरुलाई बाख्रा प्रर्वद्धन कार्यक्रम र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको सहकार्यमा बेमौसमी तरकारी खेती कार्यक्रम संचालन गरिएको सहकारीले जनाएको छ ।

 

६३९ सदस्य रहेको सहकारीमा सदस्य संख्या वृद्धि गरि शेयर पुँजी १ करोड ११ लाख पुर्‍याउने लक्ष्य लिइएको छ । आगामी वर्षका लागि प्रस्तुत गरिएको कार्यक्रम अनुसार बचत रकम ३ करोड ५० लाख, ऋण लगानी ५ करोड पुर्‍याउने लक्ष्य रहेको छ ।

 

साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ठ कार्य सम्पादन गर्ने उद्यमी तथा सदस्यलाई सम्मान गरिएको छ ।