प्यूठान । डुवानका कारण घरभित्रै पानी पस्ने समस्याले हैरानी भएपछि प्यूठान नगरपालिका–७ टिकुरी स्थित एक घरको उचाई बढाउन थालिएको छ । सामान्यतया यस्तो अवस्थामा घरनै भत्काउनुपर्ने हुन्छ । तर ‘लिफटिङ’ प्रविधिको प्रयोग मार्फत सिंगो घरको उचाई बढाउन लागिएको हो ।
लिफ्टिङ प्रविधिको प्रयोग गरी जनज्योति सामुदायिक विकास केन्द्र नेपालले आफ्नो एक तले भवन उठाउने कार्य शुरु गरेको छ । ‘पानीको भल कार्यालय भित्रै पसेर हैरानी भएपछि कार्यालय नै सार्नुपर्ने, भवन नै भत्काउनु पर्ने स्थिति थियो ।’ ,संस्थाका पूर्व अध्यक्ष सञ्जय रिजालले भन्नुभयो, ‘लिफटिङ प्रविधि मार्फत घरको उचाई बढाउँदै छौं ।’ घरको उचाई उठाउँदा अन्य समस्या नहुने उहाँले बताउनुभयो ।
सवारी साधन उठाउन प्रयोग गरिने ‘जग’ घरको चारै तर्फ जडान गरिएको छ । घरको जगसंँग घरलाई अलग गरिएको छ । आवश्यकता अनुसार घरको उचाई दिएपछि पहिलेकै पिल्लरसँग जडान गरेर बलियो बनाइन्छ । ५ फिट अग्लो बनाउने योजना अनुसार काम शुरु गरिएको र हालसम्म डेढ फिट उचाई भैसकेको पूर्व अध्यक्ष रिजालले बताउनुभयो । एक महिना भित्रै काम सकिने अनुमान गरिएको छ ।
यो प्रविधि धेरै महंगो पनि नपर्ने संस्थाले जनाएको छ । प्रति स्क्वायर फिट ४ सय रुपैंयाका दरले घर उठाउन लागिएको हो । यो प्रविधिले विभिन्न कारणले घर भत्काउनुपर्ने समस्या टर्नेछ ।
यस प्रविधि प्रयोग गरी यसअघि प्यूठानको भिंगृमा एक घरलाई ३२ फिट पछाडी सारिएको थियो । सम्भवतः घर सार्ने र उठाउने यो कार्य प्यूठानमा पहिलो पटक भएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
