आर्थिक/बिकाससमाज

प्यूठानमा युरिया मलको अभाव : किसान चिन्तित

प्यूठान, १८ साउन । झार गोडमेल गरेर मल राख्न ठिक्क परेका किसान यतिबेला युरिया मल नपाउँदा चिन्तित बनेका छन् । जिल्लाका प्रायः सवै ठाउँमा धान रोपाई सकिएर धान गोडमेलसँगै युरिया राख्ने बेला मलको अभाव हुँदा किसान चिन्तित बनेका हुन् ।

नौबहिनी गाउँपालिका–६ चित्चौरका मधुुसुदन केसीले धानखेतमा गोडमेल गरेर मल राख्न ठिक्क पारेको अवस्थामा मल नपाइएको गुनासो गर्नुभयो । ‘खेतमा झार गोडेर मल हाल्न ठिक्क बनाएको छु,’ उहाँले भन्नुभयो, ‘तर बजारमा युरिया पाइएको छैन ।’

सलह किराले मकैबाली नष्ट गरेर चिन्तित बनेका किसान धानखेतीका लागि युरिया नहुँदा पुनः निराश भएका छन् । पछिल्लो समय खेतमा गाईबस्तुको मलभन्दा रासायनिक मलको प्रयोग धेरै गर्ने गरिएको छ । ‘अहिले युरिया मल चाहिने बेला हो’, उहाँले भन्नुभयो, ‘नौबहिनीमा मल नै छैन ।’

जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड भैरहवा र साल्ट ट्रेडिङ कर्पोरेशन भैरहवाबाट इजाजत प्राप्त दश वटा सहकारीले मल ल्याउने गर्दछन् । भैरहवाका दुवै ठाउँमा अहिले युरिया मल नहुँदा जिल्लामा मलको अभाव भएको हो ।

‘जिल्लामा पर्याप्त मात्रामा मल छैन’, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्यूठानका निमित्त प्रमुख सुमन खनालले भन्नुभयो, ‘थोरै मात्र मल हुँदा समस्या भएको हो ।’ जिल्लामा आर्थिक वर्ष २०७६÷०७७ मा ८३९ मेट्रिकटन मल सिफारिस गरिएकोमा ७५९ मेट्रिकटन खरिद विक्री भएको तथ्याङ्क छ । यो वर्ष एक हजार ६६३ मेट्रिकटन मलको माग रहेको खनालले जानकारी दिनुभयो । ‘अहिले जिल्लामा युरिया ३÷४ टन स्टक होला तर यति ठुलो क्षेत्रमा त्यति मलले पुग्ने सम्भावना नै भएन्’ खनालले भन्नुभयो ।

Related Articles

Back to top button