> विचार > देश हाँक्न असल नेतृत्व चाहिन्छ


देश हाँक्न असल नेतृत्व चाहिन्छ

सरद बिष्ट

नेपालीमा एउटा उखान छ- ‘जुन जोगी आए पनि कानै चिरेका ।’ जसलाई अंग्रजीमा- “As many saints come, all of them have cracked their ears.” भनिन्छ । सबै कान चिरेका जोगीहरुको लक्ष्य,गन्तब्य, माग्ने प्रबृति र उद्धेश्य उस्तै साझा भएकोले तिनीहरुमा खासै अन्तर नपाए जस्तै नेपाली नेताहरुमा पनि ठ्याक्कै त्यस्तै प्रवृति र व्यबहार छ ।

 

भूगोलको हिसाबले यति साने मुलुकमा पनि थुपैै शासन प्रणालीको अभ्यास भएको देख्न पाईन्छ । यहाँ नेपाली जन्ताहरुले १०४ बर्षै निरङ्कुस राणा शासन फाले, ३० बर्षे पञ्चायती शासनको अन्त्य गरे, २४० बर्षे सामन्ती राजतन्त्रात्मक व्यबस्थालाई पनि २०६२/२०६३ को दोस्रो जनआन्दोलनले ठेगान लगाई दियो । बहुदल हुदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको महान यात्रामा नेपाललाई अघि बढाउने नेताहरुले दृढ संकल्प गरे ।

 

पुँजीवादी,समाजवादी र माओवादी जे-जे भनेपनि काङ्ग्रेस कम्युनिष्टहरुका नेताहरुले आफ्नो छत्रछायामा आलोपालो गरेर देश चलाए । अल्पमत, वहुमत, दुई तिहाई सवैलाई अवसर मिल्यो । तर,नेतृत्वगण अलि स्वार्थी,सुविधामुखि र भष्ट्राचारमा लिप्त हुँदा राज्यको ढुकुटी रित्तिएर गयो । कोरोना नियन्त्रण समयमै भएन । गरिवी, भोकमरी र वेरोजगार वढ्दै गयो । वैदेशिक ऋणको भार थपिदै गयो । राजनैतिक दलहरुले खाली अर्काको मात्र गल्ती देखे, आफूले गरेको अपराध सम्झनै चाहेनन् ।

 

देशमा गणतन्त्रको एतिहासिक घोषणा पश्च्यात राजनैतिक खिचलो मात्र बढ्दै गयो । एकले अर्कालाई कहाँ र कसरी पर्छान सकिन्छ भन्ने राजनैतिक चलखेल मात्र भयो । माओबादीको १० बर्षे जनयुद्धमा हामीले सत्र हजार नेपाली आमाका सन्तान गुमायौ । कमरेड प्रचण्डले भन्नुभयो,- “म पाँच हजारको जिम्मा लिन्छु, अरु मेरो हिस्सामा पर्दैन ।” उसोभय, १२ हजारको जिम्मा कसले लिने हो ? जनयुद्धका नायक तथा पार्टीका सुप्रिम कमाण्डरको यस्तो अभिव्यक्ति पक्कै पनि गैर जिम्मेवार हो । म अहिलेको काम चलाउ सरकारका प्रधानमन्त्रीलाई पनि केहि प्रश्न सोध्न चाहान्छु । खै कोभिड महामारी नियन्त्रण गरेको ?, के संसद बिघटन नै देशलाई निकास दिने उपर्युक्त मार्ग हो ?, खै महामारीमा भोका नाङ्गालाई राहत बाडेको ?, खै नागरिकले कोरोना बिरुद्धको भ्याक्सीन पाएको? कहिलेसम्म निशेधाज्ञा र लकडाउन हुन्छ ? तराईमा त्रिपाले ढाकेर राखेको रेल कहिले गुड्ने हो ? थुप्रै बालबालिकाहरु पढ्न नपाएर घरमा दिकदार भएर बसेका छन । तिनीहरुको लागि बिधालय कहिले खुल्ने हो ?, बैदेशिक रोजगारको लागि पेलेन कुरेर बसिरहेकाहरुको लागि पेलेन कहिले उड्ने हो ? याबत थुप्रै प्रश्नहरु तपाई समक्ष छन । ति सबै प्रश्नहरु लेखिरहन मन लागेन ।

 

आम नागरिकहरुको दैनिक जिवन अस्तव्यस्थ भएको छ । आजका मितिसम्म यो लेख तयार गर्नै लाग्दा झण्डै ७००० हजार नेपालीहरुले कोरोनावाट ज्यान गुमाईसकेका छन् । त्यसको जिम्मेवार तपाई र तपाईको सरकारले लिनैपर्छ । परिमाणमा कम वेसी होला, तर मौका पाएका जति सबैले आ-आफनो भुँडी भरे । वि.पी. कोईराला र मदन भण्डारी जस्ता राजनेताहरुको धाक लाएर जन्ताहरु झुक्काए पनि सत्ता कहिल्यै असल नेतृत्वको हातमा परेन र्। युज याण्ड थ्रो’ को रुपमा देशलाई प्रयोग गर्दा आम नागरिकले खुब दुःख पाए ।

 

कमसेकम एउटा नेतृत्व असल भएर विदेशी हस्तक्षेप विना काम गर्ने वातावरण पाएको भए देशको यस्तो अवस्था हुदैनथ्यो । विस्तारै देश, असफल राज्यको रुपमा परिणत भएको छ र हुदैछ । यहाँ पात्र होइन्, अब प्रवृत्ति,पद्धति र आचरण फेर्नु पर्दछ । नियम, पद्धति र शुसासनले मात्र राज्यमा समुद्धि ल्याउने भएकोले पुरानो शासन व्यवस्था बदल्न र भत्काउन जन्ता एक ढिक्का हुन जरुरी छ । देश हाँक्न असल नेतृत्व तयार नभएसम्म त्यो देशको आर्थिक,सामाजिक, बैज्ञानिक र भौतिक पूर्वाधारहरुको विकास हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *