प्यूठान । सामान्यतया खानेपानीको वचत गरि उपभोग गर्न ‘पानीको प्रयोग गरेपछि धारा बन्द गरौ’ भन्दै सन्देश दिइन्छ । पानी सुविधाको समस्या भएका उपभोक्तालाई थाहा हुन्छ, यसको महत्व ।
तर, प्यूठान ऐरावती गाउँपालिका–४ को गोल्जामा पानीको धारा बन्द गरेमा जरिवाना लाग्छ । ‘प्रत्येक घरमा खानेपानी सुविधाका लागि धारा जडान गरिएको छ ।’ ,स्थानीय जगतबहादुर पुनले भन्नुभयो, ‘पानी धारा सधैं खुला राख्नुपर्छ, बन्द गरे जरिवाना लाग्छ ।’ २९ घर धुरी रहेको यहाँ पानीको धारा बन्द गरे ५ सय रुपैंया जरिवाना तिर्नुपर्छ ।
पानीको प्रेसरले गर्दा पाईप फुट्ने समस्या रोक्नका लागि उपभोक्ताहरुले धारा खुल्लै राख्न यस्तो उपाय अपनाएका हुन् । ‘पानीको मुहान बस्ती भन्दा माथि छ ।’ ,ऐरवाती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले भन्नुभयो, ‘पानी प्रेसरमा आउँछ, धारा बन्द नगर्दा फाइप फुट्छ, धारा फुट्छ ।’ दैनिक २÷३ घण्टा बोकेरै खानेपानी उपभोग गर्दै आएका यहाँका स्थानीयको घरघरमा अहिले खानेपानी सुविधा पु¥याइएको उहाँले बताउनुभयो ।
पानीको सदुपयोग गर्दै स्थानीयले तरकारी खेति गर्न थालेका छन् । ‘लगातार आउने पानीको उपयोगिता बढाउन पोखरी निर्माण गरिएका छ ।’ ,अध्यक्ष शाहले भन्नुभयो, ‘थोरै घरधुरी भए पनि सबै जना तरकारी खेति गर्न थालेका छन् ।’ अन्य बस्तीहरुको तुलनामा यहाँ राम्रो तरकारी खेति हुने गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले नेवा, गोर्खा वेलफेयर लगायत विभिन्न निकायको साझेदारीमा खानेपानी आयोजनाहरु संचालन गर्दै आएको छ ।











