प्यूठान । हरेह वर्ष जस्तै यसवर्ष पनि प्यूठानको डल्लेमा सराए नाँच प्रदर्शन सहितको प्रतियोगिता सम्पन्न भएको छ । तिहारको भाईटिकाको भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ ।
यसवर्षको प्रतियोगितामा सापडाँडा सराए समुह प्रथम, पुण्यखोला सराए समुह दोश्रो र थापडाँडा सराए समुह तेश्रो भएका छन् । विजेता समुहले क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ८ समुह सहभागी भएको तुकमानसिंह कार्कीले बताउनुभयो ।
प्यूठान नगरपालिका–७ डल्लेमा लाग्ने यस मेलाको व्यवस्थापन वडा कार्यालयले गर्दै आएको छ । ऐतिहासिक महत्वको मेलालाई संरक्षण र व्यवस्थित गर्नका लागि २०७० सालदेखि सराए प्रदर्शनलाई प्रतियोगिताको रुपमा संचालन गर्ने गरिएको वडा अध्यक्ष नेत्रबहादुर केसीले बताउनुभयो । कोरोनाका कारण वीचमा दुई वर्ष मेला संचालन नभएपनि नियमित रुपमा मेला लाग्दै आएको छ ।
मेलाको अवसरमा कृषकहरुले स्थानीय उत्पादन विक्रिका लागि राखेका थिए । लायन्स क्लव अफ प्यूठानले मेलामा पुग्ने दर्शकहरुका लागि निःशुल्क माक्स वितरण गरेको थियो ।
किम्वदन्ती अनुसार भुरे टाकुरे राज्य सञ्चालनका बेला एक जना राक्षसलाई जनताले लखेटेर मारेको सम्झनामा खुशीयाली सहित यहाँ वर्षेनी भाइटिकाको भोलिपल्ट सराएँ मेला लाग्ने गरेको प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बताउनुभयो ।














