प्यूठान । प्यूठान प्रहरी कार्यसम्पादनमा उत्कृष्ट रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेश वस्यालले बताउनुभएकोछ । आफ्नो कार्यकालमा भएको प्रगति विवरण बारे सुनाउदैं प्रमुख वस्यालले घटनाहरुको अनुसन्धानमा शतप्रतिशत नतिजा हाँसिल गरेको बताउनुभयो ।
प्रहरीको तथ्यांक अनुसार गत असोज महिनादेखि भदौं मसान्तसम्म कर्तव्य ज्यानका ८, जवरजस्ती करणीका १५, चोरीका ५, जबरजस्ती करणी उद्योगका ६, साईवर अपराधका एक वटा घटना घटेका छन् । सवै घटनाको अनुसन्धान कार्य सम्पन्न गरी प्रतिवादीलाई कानुनी दायरामा ल्याएको प्रमुख वस्यालले जानकारी दिनुभयो ।
यस अवधिमा ८८ वटा आत्महत्या, २ वटा जातिय छुवाछुत तथा भेदभाव, १५ वटा अभद्र व्यवहार, ५ वटा बहुविवाह र १ वटा बालबिवाहका घटाना प्रहरी समक्ष पुगेका छन् । १ सय ५६ वटा ठाडो उजुरी परेकोमा सवै मिलापत्र भएको बस्यालले बताउनुभयो ।
अदालतबाट फैसला भई फरार रहेका ८५ जना प्रतिवादी मध्ये यस अवधिमा ४३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । १८ जनालाई कानुनी दायरामा ल्याउने लक्ष्य लिइएकोमा ४३ जनालाई ल्याउन सफल भएको डिएसपी बस्यालले बताउनुभयो । यसका साथै १४ लाख ५५ हजार ९ सय ७१ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सरुमारानी गाउँपालिकाको दरभानमा भएको शिशु हत्या, माण्डवी गाउँपालिका मर्कावाङ, गौमुखी गाउँपालिका खुङमा भएको हत्या जस्ता जघन्य अपराधको सफल अनुसन्धान र घटनामा संलग्न दोषिलाई कारवाही प्रक्रिया अगाडी बढाउन समेत सफल रहेको डिएसपी बस्यालले बताउनुभयो ।
यस अवधिमा जिल्ला प्रहरी कार्यालय प्यूठान अपराध अनुसन्धानमा उत्कृष्ट जिल्ला भएको उहाँको भनाई छ । वैंकिङ कसुर र साईवर अपराध प्यूठानका लागि नयाँ प्रकृतिका घटना भएको र लागु औषध सम्वन्धी घटनाहरु न्यून रहेको डिएसपी बस्यालले अनुभव सुनाउनुभयो ।











