प्यूठान । प्यूठान नगरपालिका–१० हाँडिगैराका नुमबहादुर वि.क.लाई अहिले मादल बनाउन भ्याईनभ्याई छ । हरेक वर्ष जस्तै यसवर्षको साउन महिनादेखि उहाँ नयाँ मादल बनाउने र मर्मत कार्यमा व्यस्त हुनुहुन्छ ।
७ वर्ष अघि नयाँगाउँ पुगेर सिकेको मादल बनाउने सीपले व्यस्ततासँगै यस सिजनमा आम्दानी पनि हुने गरेको छ । ‘सीप भएपछि आम्दानी हुने नै भयो ।’ ,उहाँले भन्नुभयो, ‘सिजनको समयमा मात्र काम हुने भएकाले भ्याईनभ्याई हुन्छ ।’ सबैलाई भनेकै समयमा मादल उपलब्ध गराउनुपर्ने भएपछि उहाँको काममा परिवारका सदस्यहरुले पनि सघाउने गरेका छन् ।
‘मेरा र भाईका छोराछोरीहरुले पनि काममा सघाउँछन् ।’ ,उहाँले भन्नुभयो, ‘बाह्रै महिना नचल्ने भएकाले ३/४ महिना यो काम गर्छु ।’ अन्य समयमा उनले आरन र काठको काम गर्छन् । विश्वकर्मा मादल निर्माण तथा मर्मत केन्द्र नाम दिएर उहाँले मादल बनाउने र मर्मत गर्न काम गर्दै आउनुभएको छ । साईज अनुसार एउटा मादल २ हजार ५ सय रुपैंयादेखि २५ हजार सम्ममा विक्रि हुन्छ ।
खमारीको काठको मादल राम्रो हुन्छ । ‘अन्य काठको पनि आकार त बन्छ तर राम्रो बज्दैन ।’ ,उहाँले भन्नुभयो, ‘गोरु वा बाख्रोको छाला पाउनै पुस्किल पर्छ ।’ मादलका लागि आवश्यक छाला स्थानीय स्तरबाट ल्याउने र नपाएमा बुटवलबाट ल्याउने गरेको उहाँले सुनाउनुभयो । किट खानीबाट निकालिन्छ । त्यसलाई पगालेर मादलमा खरि लगाइन्छ । किट स्थानीय जंगलमा पाइन्छ । ‘प्यूठानको लामाचौरमा राम्रो किट पाइन्छ ।’ ,उहाँले भन्नुभयो, ‘धादिङमा धेरै पाइन्छ भन्ने सुनेको छु, जिल्लामा नपाए बुटवलबाटै मगाउने गरेको छु ।’
मादलमा खरि लगाउने र मर्मतका लागि १ हजार २ सयदेखि २ हजार रुपैंयासम्म ज्याला लिने गरेको उहाँले सुनाउनुभयो । तीज, दशैं, तिहार जस्ता पर्वहरुमा मादलको प्रयोग अधिक हुने भएकाले यो समयमा कामको व्यस्तता हुने उहाँले उल्लेख गर्नुभयो ।
पछिल्लो समय देउसी–भैलो खेल्नका लागि साउण्ड सिष्टमको प्रयोग हुन थालेपछि मादलको प्रयोगमा भने कमि आउन थालेको नुमबहादुरको अनुभव छ । ‘सिजन नभएको समयमा पनि बनाएर राख्ने र सिजनमा विक्रि गर्ने गरिन्थ्यो ।’ ,उहाँले भन्नुभयो, ‘साउण्ड सिष्टमको प्रयोग हुने भएपछि अर्डर अनुसार मात्र काम गर्छाैं ।’ मादलको प्रयोग विस्तारै लोप हुने प्रति उहाँले चिन्ता प्रकट गर्नुभयो । ‘साउण्ड सिष्टमको प्रयोगले मादल नै लोप हुने अवस्थामा छ ।’ ,उहाँले भन्नुभयो, ‘नयाँ पुस्ताले चासो नराख्ने हो भने मादल मात्र होइन कला संस्कृति पनि हराउनेछ ।’













