प्यूठान । लुम्बिनी प्रदेश सभाका सदस्य तुल्सिराम शर्माले जिल्ला अस्पताल प्रतिको बिश्वास बढाउनु पर्नेमा जोड दिनुभएको छ । बिगतमा बिभिन्न कारणले अस्पताल संचालन गर्नै समस्या हुने गरेकोमा पछिल्लो समय भएको सुधारलाई कायम राख्दै उहाँले बिश्वास बढाउनुपर्नेमा जोड दिनुभएको हो ।
अस्पतालले गरेको आब २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो सुझाव राख्नुभएको हो । अस्पताल ब्यबस्थापन, कर्मचारी बिचको समन्वय जस्ता बिबिध कारणले अस्पताल चलाउनै सकिँदैन कि भन्ने अवस्थाबाट सबै पक्षको पहलमा सुधार आएको उहाँको भनाई थियो ।
अस्पतालको भवन निर्माणमा ढिलासुस्ती भैरहेको भन्दै उहाँले बजेट बिनियोजन मात्र सब थोक नभैइ सबैले जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गर्नुभयो । अस्पतालको भौतिक, जनशक्ति र प्रविधि ब्यबस्थापनका लागि जनप्रतिनिधिका हैसियतले आफुले पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले गुणस्तरीय सेवाका लागि कार्यरत जनशक्तिले विशेष जिम्मेवारी बहन गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा आफ्ना भनाई राख्दै स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले जिल्ला अस्पतालमा आउने बिरामीहरुको अवस्था अनुसार यहाँ विशेषज्ञ चिकित्सकहरु आवश्यक पर्ने भएकाले टिकाई राख्नुपर्ने सुझाव दिनुभयो । समिक्षालाई अर्थपूर्ण बनाउनका लागि प्रगति हाँसिल गर्न देखा परेका समस्याहरु केलाउने र त्यस अनुरुपको समाधानको बाटो खोज्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम जिसि, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायतले सुझावहरु राख्नुभएको थियो ।
कार्यक्रममा अस्पतालका मेडिकल सुररिटेण्डेन डाक्टर सुवास पौडेलले प्रगति बिबरण प्रस्तुत गर्नुभएको थियो ।
