प्यूठान । प्यूठानका टमाटर उत्पादक किसान `ग्राफ्टिङ´ विधि सिक्दै छ्न । बिरुवा ओइलाउने समस्या भोग्दै आएका यहाँका किसानहरुले टमाटरको बिरुवालाई कलमी बनाउने नयाँ विधि सिक्न थालेका हुन ।
किसानहरुले भोग्दै आएको रोगको समस्या समाधान गरि बिरुवाको आयु बढाउने उद्देश्यका साथ यस्तो विधि अबलम्बन गर्न लागिएको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम प्यूठानका प्रमुख चुमान सिंह गिरीले बताउनुभयो । `यो विधि नेपालमै नौलो रहेको र जिल्लामा पहिलो पटक प्रयोग गर्न गइरहेका छौं ।´ ,उहाँले भन्नुभयो, `यो विधिबाट किसानका समस्या समाधान भइ गुणस्तरीय उत्पादन बढ्ने अपेक्षा गरेका छौं ।´ कार्यालयले जिल्लाका २० जना अगुवा टमाटर उत्पादन गर्ने किसानहरुलाई ग्राफ्टिङ विधि बारे तालिम दिएको छ ।
तीन दिने तालिमले श्रोत ब्यक्ति उत्पादन गर्ने र उनीहरुले जिल्लामा रहेका किसानहरुलाई सीप सिकाउने छ्न । कृषि तथा वन बिज्ञान बिश्वबिद्धालय रामपुर चितवनबाट आएको प्रशिक्षक टोलिले तालिम संचालन गरेको प्रमुख गिरीले जानकारी दिनुभयो । चितवनका किसानहरुको समन्वयमा भारतबाट ल्याइएको जंगली भान्टाबाट टमाटरलाई कलमी गरिएको हो ।
स्थानीय स्तरमा पाइने जंगली भान्टाको पनि परिक्षण गरिने उहाँले उल्लेख गर्नुभयो । मल्लरानी गाउँपालिकाको सरङकोटमा संचालित तालिम पछि जिल्लाका किसानहरुको समस्या समाधान भइ स्वस्थ उत्पादन बढ्ने कार्यालयले अपेक्षा गरेको छ ।
