प्यूठान । पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत सरस्वती माध्यमिक विद्यालय सरुमारानी गाउँपालिका–१ बाङ्गेशालका विद्यार्थीहरुले फूलखेति गर्दै आएका छन् । कृषि प्राविधिक धार तर्फ अध्ययनरत विद्यार्थीहरुले फूलखेति गर्ने गरेका छन् ।
दुई वर्षदेखि विद्यालय वरपर खेर गएको जमिनमा फूलखेति गर्ने गरिएको विद्यालयले जनाएको छ । ‘कति क्षेत्रफलमा खेति गरिएको एकिन त छैन तर खालि जमिनमा खेति गरेका छौं ।’ ,शिक्षिका विक्रम परियारले भन्नुभयो, ‘गतवर्षहरुको अनुभवमा यसवर्ष खेति थप क्षेत्रमा विस्तार गरिएको छ ।’ यसवर्ष १ हजार भन्दा धेरै किलो विक्रि गर्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो ।
फूलको बजार माग राम्रो रहेको भन्दै उहाँले पालिका भित्रका विभिन्न ठाँऊहरुका साथै दाङको भालुवाङ, मौरिघाटबाट समेत अर्डर आएको बताउनुभयो । ‘फूल खोज्दै ग्राहकहरु खेतबारी पुग्ने गरेका छन् । फूल बोकेर बजार लैजानु परेको छैन ।’ ,उहाँले भन्नुभयो, ‘अहिले फूल किलोमा विक्रि गर्ने गरेका छौं ।’
तिहार पर्वमा फूलको अधिक प्रयोग हुन्छ । अघिल्लो वर्षभन्दा ठूलो परिणाममा खेति गरिएकोले विक्रि भएर बचेको फूल बजार लैजाने योजना समेत विद्यालय बनाएको छ । फूल विक्रिको सिजन चलिरहेको र अझै केहि दिन चल्ने भन्दै शिक्षिका परियारले फूल बचेको खण्डमा माला बनाएर विक्रिका लागि लैजाने उल्लेख गर्नुभयो ।
फूल ४ सय रुपैंया प्रति केजि विक्रि हुँदै आएको छ । विद्यालयमा कक्षा ९ देखि १२ सम्म १२० जना विद्यार्थीले कृषि प्राविधिक विषय अध्ययन गरिरहेका छन् ।













