प्यूठान । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले उद्योग दर्तामा ५० प्रतिशत छुट सुविधा उपलब्ध गराएको छ । दर्ता भई लामो नविकरण नभएका फर्महरुका लागि ७० प्रतिशत जरिवाना छुट दिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका प्रमुख मनिबहादुर गुरुङका अनुसार नयाँ दर्ता हुने उद्योग र बाणिज्य दुवै तर्फका फर्महरुका लागि ५० प्रतिशत छुट उपलब्ध गराइएको हो । ‘प्रदेश सामयिक कर असुली ऐन २०८२ अनुसार नयाँ दर्ताका लागि पुस मसान्तसम्म ५० प्रतिशत छुट सुविधा उपलब्ध छ ।’ ,उहाँले भन्नुभयो, ‘समावेशि उद्यमीहरुका लागि भने यो सुविधा सधैं दिइन्छ ।’
दर्ता भई संचालनमा रहेका वा संचालनमा नरहेका उद्योगहरु नविकरण नभएमा ७५ प्रतिशत जरिवाना छुटमा नविकरण गर्न सकिन्छ । ‘२५ प्रतिशत जरिवाना दाखिला गरेमा फर्म नविकरण गर्न सकिने सुविधा प्रदेश सरकारले दिएको छ ।’ ,गुरुङले भन्नुभयो ।
बढ्दै महिला उद्यमी
प्यूठान जिल्लामा महिला उद्यमीहरुको संख्या बढ्दो छ । घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांक अनुसार पछिल्लो तीन आर्थिक वर्षमा महिला उद्यमीहरुको संख्यामा बृद्धि भएको हो ।
आ.व. २०८१/८२ मा कुल ३७ उद्योग दर्ता भएकोमा १७ जना महिला उद्यमी रहेका छन् । आ.व. २०८०/८१ मा कुल ३६ उद्योग दर्ता भएकोमा १३ जना महिला उद्यमी छन् । त्यस्तै आ.व. २०७९/८० मा दर्ता भएका कुल ६३ उद्योग मध्य ३१ जना महिला उद्यमी रहेको कार्यालयको तथ्यांकले देखाउँछ । कुल ५ लाख भन्दा कम पुँजी भएका उद्योगहरु पालिका कार्यालयमै दर्ता हुने भएकाले नयाँ फर्म दर्ता संख्यामा कमि आएको कार्यालय प्रमुख गुरुङले बताउनुभयो ।
आ.व. २०८१\८२ मा दर्ता भएका ३७ उद्योगहरु मध्य सबैभन्दा धेरै उत्पादनमुलक उद्योग दर्ता भएका छन् । उत्पादनमुलक सेवा क्षेत्र अन्तरगत कुल ११ वटा उद्योग दर्ता भएकोमा ४ जना महिला उद्यमी छन् । ४ महिला उद्यमी सहित १० वटा सेवामुलक, ६ महिला उद्यमी सहित ९ वटा कृषि, १ महिला उद्यमी सहित ३ वटा पर्यटन, १ महिला उद्यमी सहित २ वटा सूचना प्रविधि, १ स्वास्थ्य र १ निर्माण सेवा क्षेत्रका उद्योग दर्ता भएको कार्यालयका सूचना अधिकारी चम्पक श्रेष्ठले जानकारी दिनुभयो ।













