> राष्ट्रिय > दोश्रो कार्यकालको ‘उत्तरार्ध’मा वडा कार्यालय जाँदै वडाध्यक्ष


दोश्रो कार्यकालको ‘उत्तरार्ध’मा वडा कार्यालय जाँदै वडाध्यक्ष

प्यूठान । झिमरुक गाउँपालिकाले ८ नं. वडा कार्यालयको केन्द्र गाउँपालिकाले फुलवारी तोकेको ८ वर्ष वित्यो । घरबाटै वडा कार्यालयको सेवा दिँदै आएका यहाँका वडाध्यक्ष आईतबार (भोलि)देखि वडा कार्यालय जाने भएका छन् ।

 

वडाध्यक्ष कार्यालयमा उपस्थित हुनुपर्ने’ माग गर्दै बिहिबार यहाँका स्थानीयले प्रदर्शन गरे । गाउँपालिकामा निवेदन दिए । ८ नं. वडा प्रवेशद्धारमा सडक अवरोध गरे । गाउँपालिकाले वार्ताका माध्यमबाट समस्या समाधान गर्न अनुरोध भन्दै विज्ञप्ती निकाल्यो । बिहिवार राति अवेर स्थानीय प्रहरी प्रशासनको पहलमा अवरुद्ध सडक खुल्यो ।

 

शुक्रवार स्थानीय र पालिका वीच भएको सहमति अनुसार वडाध्यक्षले तोकिएकै वडा कार्यालयबाट सेवा प्रदान गर्ने सहमति भएको छ । `तीन दिन (आईतबार, सोमबार र मंगलबार) फुलबारीबाट सेवा प्रदान गर्ने सहमति भएको छ ।’ ,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले भन्नुभयो, `बाँकी तीन दिन टिमुरचौर तर्फ पायक पर्ने उपल्लो भेगबाट अस्थायी सेवा केन्द्र मार्फत वडा कार्यालयको सेवा उपलब्ध हुने भएको छ ।’ वडा समितिको पहलमा फुलबारी रातामाटामै जग्गा व्यवस्थापन गरी वडा कार्यालय भवन निर्माण गर्ने समेत सहमति भएको उहाँले बताउनुभयो ।

 

वडा कार्यालयको लेटर प्याडमा फुलवारी रातामाटा नै उल्लेख भए पनि सबै स्थानीयको पायक पर्ने स्थान नभएकोले टिमुरचौर आफ्नै घरबाट सेवा प्रदान गर्नु परेको वडा अध्यक्ष तुलस बस्नेतले बताउनुभयो । `पहल कदमी गर्ने सबैलाई धन्यवाद, सेवा उपलब्ध हुन नसकेकोमा सरी भन्न चाहन्छु ।’ ,प्रदर्शनकारीहरुसँग उहाँले भन्नुभयो, `आईतबारदेखि फुलबारीमा सडकको छेवैमा कार्यालय स्थापना गरि सेवा शुरु गर्छाैं, टिमुरचौर कहाँबाट गर्ने भन्ने भोलि नै सल्लाह गरौंला ।’

 

भाडाको घरबाट संचालन भैरहेको हालको वडा कार्यालय समेत बस्तीको वीचमा नभएकाले त्यसलाई बस्तीको वीचमा ल्याउने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत केसीले उल्लेख गर्नुभयो । गाउँकार्यपालिकामा वडाको केन्द्र टुङ्गो लगाउन सहमति नभएपछि ८ वर्ष पहिले मतदान भएको थियो । तत्कालिन दुई तिहाई बहुमतले फुलबारी केन्द्र निर्धारण गरे पनि वडा अध्यक्षले घरबाटै सेवा दिँदै आएका थिए । गाउँपालिकाको वेवसाइटमा अहिले पनि वडा केन्द्र फुलबारी हुनुपर्नेमा टिमुरचौर उल्लेख छ ।