प्यूठान । ऐरावती गाउँपालिका वडा नं. ४ हर्नाघाटकी पुष्पा रोका मगर आफनो छोराको पढाईमा भएको सुधारले खुशी हुनुहुन्छ। ८ वर्षिय जीवन अहिले कक्षा ४ मा अध्ययनरत छन् । आफै पढ्न बस्ने बानीको विकास र अक्षर राम्रो लेख्न थालेका छन् । पुष्पाले विगत सम्झनुभयो, “घरमा पढ्न मनै नगर्ने, अक्षर पनि राम्रो नलेख्ने, विहान अवेलासम्म सुत्ने गर्दथ्यो ।” उहाँले भन्नुभयो,“अहिले पढाईमा राम्रा् गर्न थालेको छ ।”
कक्षा ५ मा पढ्ने कपिला शाहको दैनिकि पनि अहिले फेरिदै गएको छ । १० वर्षीया कपिला घरमा पढ्न थालेकी छन् भने घरायसी काममा आमालाई सघाउने समेत गर्छिन् । यसरी विद्यालय बाहेकको समयमा अतिरिक्त कक्षा चल्न थालेपछि जनकल्याण आधारभुत विद्यालय ऐरावती गाउँपालिका-४ हर्नाघाटका बालबालिकाहरुको पढ्ने बानीको विकास भएको छ ।
विहान ७ बजेदेखि कक्षा ३, ४ र ५ का विद्यार्थीहरुको ४०/४० मिनेटको अतिरिक्त कक्षा पढ्छन् । अतिरिक्त कक्षा पढ्न थालेपछि विद्यार्थीहरुको आनीवानीमा समेत परिवर्तन आएको विद्यालयका प्रधानाध्यापक ओमबहादुर घर्ति बताउनुहुन्छ ।
“कमजोर विद्यार्थीहरुलाई झनै अतिरिक्त कक्षा निकै उपलब्धी पूणर् भएको छ ।”,ओमबहादुरले भन्नुभयो, “पाठ दोहोरिएर पढाई हुने भएकाले विद्यार्थीहरुलाई छिटो सिक्न सहज भएको छ भने शिक्षकहरुलाई सिकाउन पनि सहज भएको छ ।” विद्यालयको मात्र पढाईको भर पर्दै आएका विद्यार्थीहरु अतिरिक्त कक्षासँगै घरमा पनि पढ्न थालेका छन् । “कोरोनाका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पढाई झनै विग्रिएको थियो ।” ,उहाँले सुनाउनुभयो, “अहिले नियमित विद्यालय आउने गरेका छन् ।”
फरक-फरक दिन फरक-फरक विषयको पढाई हुने गरेको छ । पाठ पढाउनेसँग होमवर्क गरे/नगरेको जाँच्ने गरेको सहजकर्ता दिपा घर्तिमगरले बताउनुभयो । उहाँले विद्यार्थीहरुको माग अनुसार उनीहरुलाई अफ्ठ्यारो लागेको विषयमा सहजिकरण गर्ने गर्नुहुन्छ । विशेष गरी गणित, विज्ञान र अंग्रेजि विषयलाई जोड दिने गरेको उहाँले सुनाउनुभयो ।
पढाईमा कमजोर विद्यार्थीहरुलाई कक्षा उपयोगी भएको दिपाले बताउनुभयो । सिकाई अवस्था एकिन गर्नका लागि कक्षा परीक्षा गर्ने गरिएको छ । ५ कक्षामा पढ्ने एलिजा शाही, ४ कक्षामा पढ्ने सन्देश घर्तिमगर लगायत विद्यार्थीहरुमा सोधेको प्रश्नको उत्तर दिन सक्ने, नोट बनाउने, हिसावहरु मिलाउने र नबुझेको विषयमा सोध्ने वानीको विकास भएको छ । अहिले अतिरिक्त कक्षामा ५४ जना विद्यार्थी सहभागी छन् ।
विद्यार्थीमा आएको परिवर्तनले अभिभावकहरु उत्साहित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र भण्डारीले बताउनुभयो । कक्षा सञ्चालनका लागि करीव एक वर्षदेखी कालिका विकास केन्द्र नेपाल/स्ट्रोम फाण्डेशनको साझेदारीमा सञ्चालित सिड्स कार्यक्रमले सहयोग गर्दै आएको अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँकै सामुदायिक वनको आम्दानीबाट सहयोग जुटाई अतिरिक्त कक्षालाई निरन्तरता दिने उहाँले योजना सुनाउनुभयो । विद्यालयकमा कुल १६६ जना विद्यार्थी छन् । विद्यालयको सेवा क्षेत्र भित्रको ‘गोल्झा’ बस्ती टाढा भएकाले त्यहाँका विद्यार्थी सेवालिनबाट बञ्चित भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।