प्यूठान । चुमा बराल मगर सिलाई मेसिन चलाउन अभ्यस्त हुन थाल्नुभएको छ । एक महिनादेखी निरन्तर मेसिनमा कपडा सिलाउन सिक्दै हुनुहन्छ ।
ऐरावती गाउँपालिका-१ दाङवाङ निवासी चुमा सिलाई सम्वन्धी शिप सिक्नकै लागि घरदेखी टाढा जुम्री बजार आउनुभएको हो । २७ वर्षीय चुमाले निःशुल्क रुपमा आवाशिय तालिम लिइरहनुभएको छ ।
“विस्तारै हात बस्दै गएको छ,” चुमाले भन्नुभयो, “शुरुमा सिक्न सक्दैन कि भन्ने लागेको थियो, अहिले सक्छु भन्ने भएको छ ।” चुमाको श्रीमान रोजगारीका लागि भारतमा हुनुहुन्छ । संयुक्त परिवारमा बस्दै आउनुभएकी उहाँको ८ वर्ष र ५ वर्षका दुई छोरा छन् ।
तालिम लिएपछि गाउँमै सिलाई पसल गर्ने सोंच बनाएको उहाँले बताउनुभयो । “गाउँमा एक/दुई ठाउँ सिलाई पसल छ,” उहाँले भन्नुभयो, “राम्रो गर्न सके यसैबाट आम्दानी गर्न सकिएला कि ?”
जुम्रीमा चलिरहेको ३९० घण्टाको आधारभुत सिलाई तालिममा रोल्पाको लुंग्रीमाडी गाउँपालिका-२ जुतुङखोलाकी मोनिका बानियाँ पनि सहभागी हुनुहुन्छ । २० वर्षीया मोनिकाले यसअघि आफ्नै लगानीमा शीप सिकेर सामान्य व्यवसाय समेत गर्दै आउनुभएको छ ।
“तालिममा सहभागी भएर पुर्नताजगी भएको छ,” उहाँले भन्नुभयो, “निःशुल्क र आवासीय समेत भएकाले टाढा भएर पनि सहभागी भएको हुँ ।” ११ कक्षामा अध्ययनरत मोनिकाले पढाईसँगै व्यवसायलाई अघि बढाउँदै लैजाने योजना रहेको सुनाउनुभयो । “घरमा कुर्ता सुरुवाल सिलाउने गरेको छु,” उहाँले भन्नुभयो, “११ मा भर्ना भएको छु, पढ्दै काम गर्दै गर्ने हो ।”
दैनिक दुई सिफ्टमा चल्ने तालिममा सहभागीले शिप सिकेर व्यवसाय गर्ने चाहना राखेका छन् । रोल्पा र प्युठानका गरि ३७ जना सहभागी छन् । सहभागी सवै किशोरी र महिला मात्र छन् । सहभागीहरु कतिपयले यसअघि पनि तालिम लिएका छन भने कतिपय नयाँ छन् । सहभागीलाई प्रशिक्षक भीम बहादुर थापा र यमकुमारी सेनले सिकाउँदै आउनुभएको छ ।
“३९० घण्टाको आधारभुत तालिम हो,” प्रशिक्षक थापाले भन्नुभयो, “यो अवधिमा १८ वटा आईटम सिलाउन सिकाइन्छ ।” स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित दिगो तथा मर्यादित सामाजिक आर्थिक शसक्तिकरण कार्यक्रम अन्र्तगत शिप मुलक तालिम सञ्चालन गरिएको कालिका विकास केन्द्र नेपालले जनाएको छ ।