> आर्थिक/बिकास > प्यूठानको एक दलित बस्तीमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट बाख्रापालन


प्यूठानको एक दलित बस्तीमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट बाख्रापालन

प्यूठान, ३ साउन । मल्लरानी गाउँपालिका–१ स्यानिलेककी सरिता सुनार आयआर्जनको लागि परम्परागत खेतीपाती र पशुपालन गर्दै आउनुभएको छ । सरिता मात्र होइन यहाँका पुरै बस्ती परम्परागत खेतीपाती र पशुपालन गर्दै आएका छन् ।

मल्लरानी गाउँपालिकाको दुर्गम र दलित बस्तीको रुपमा परिचित स्यानिलेकका दलित महिलालाई आयआर्जन र जीविकोपार्जनमा जोड्नका लागि मल्लरानी गाउँपालिकाले आयआर्जनको कार्यक्रम अघि बढाएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत महिलाहरुलाई समेटेर समुह मार्फत बाख्रापालन कार्यक्रम अघि बढाएको हो ।
गाउँका सवैजसो युवापिँढी रोजगारीका लागि भारत लगायतका देशमा पुगेका छन् । गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन् । बाख्रापालनको लागि आवश्यक चरन क्षेत्र समेत भएकाले गाउँपालिकाले बाख्रापालन पेशा तर्फ यहाँका महिलालाई अग्रसर बनाउन थालेको होे ।

परम्परागत रुपमा बाख्रापालन गर्दै आएपनि अबदेखि व्यावसायिक बाख्रापालनतर्फ लाग्न थालेको लालिगुँरास बाख्रापालन समुहका अध्यक्ष सरिता विकले बताउनुभयो । स्थानीय १६ जना महिला समुहमा आवद्ध भएका छन् । प्रत्येक सदस्यले तीन÷तीन वटा बाख्रा खरिद गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार समुहमा आबद्ध प्रत्येक परिवारले खोर निर्माणसँगै समुहमा तीन वटा ब्याड बोका खरिद गरेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा समुहलाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत आठ लाख रुपियाँ सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो । परम्परागत रुपमा चल्दै आएको बाख्रापालनलाई व्यावसायिकता दिनका लागि कार्यक्रम सञ्चालन गरिएको थापाले बताउनुभयो । ‘गाउँका प्राय सवैले बाख्रापालन गर्दै आइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरुले गर्दै आएको परम्परागत पेशालाई व्यावसायिकता दिन खोजिएको छ ।’

कार्यक्रमबाट अनुदान पाएपछि स्थानीय महिला उत्साहित भएको स्थानीय इश्वरी बहादुर सुनारले बताउनुभयो । आयआर्जनका लागि बैदेशिक रोजगारी र ज्यालामजदुरी नै गर्नुपर्ने बाध्यता छ । उहाँका अनुसार कोरोना सङ्क्रमणका कारण विदेशबाट फर्केकालाई समेत बाख्रापालन क्षेत्रमा लाग्न कार्यक्रमले प्रेरणा मिलेको छ । कार्यक्रमले यस वर्ष नसमेटेका परिवारलाई समेत आगामी दिनमा समेट्दै बाख्रापालनको पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्ने उहाँको भनाई छ । त्यसका लागि नियमित प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने उहाँको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *