> राष्ट्रिय > उम्मेदवार सूर्य थापाको गलाभरी माला, आलोचक थाके तर उनी थाकेनन्


उम्मेदवार सूर्य थापाको गलाभरी माला, आलोचक थाके तर उनी थाकेनन्

प्यूठान । शरीर नै अटसपटस हुने गरी गलाभरी माला लगाएका तस्विरहरुले प्यूठानका प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य थापाको चर्चा छ । तस्विर तथा भिडियोहरु ट्रोल पनि बने । एमालेका तर्फबाट प्यूठानका लागि उम्मेदवार बनेका थापाको सामाजिक सञ्जालमा चर्चा, प्रशंसा र आलोचना भयो । मालाको आलोचना गर्ने आलोचकहरु थाके तर सूर्य थापा अझै थाकेका छैनन् ।

 

आईतबार प्यूठान नगरपालिका–३ डाँडागाउँका स्थानीयले थापालाई केराऊ र बकुला सेमीको माला लगाइदिए । माघ २७ गते स्वर्गद्वारी नगरपालिका–१ भञ्ज्याङ छेंडामा स्थानीयले अनुहार नै छोपिने गरी माला र शिरमा लालिगुराँसको फूल लगाइ दिएको ‘माला यात्रा’ अझै रोकिएको छैन । ‘मलाई प्यूठानी जनताले २० थरीका माला लगाइदिएका छन् ।’ ,उहाँले भन्नुभयो, ‘दुई ट्रक भन्दा धेरै माला लगाई सके ।’ मालालाई जनताको सम्मानको प्रतिकको रुपमा लिएको उहाँले बताउनुभयो ।

 

सयपत्रि, लालिगुराँस, बकुला सेमी, केराऊ, सल्ली पिरल, भुटुक, धुपीसल्ला, मकैं, आलु, तोरीको साग लगायतका थरीथरीका माला लगाएका तस्विरहरु उहाँले आफ्नै फेसवुकमा पोष्ट गरेको पाइन्छ । ‘अरु उम्मेदवारहरु पनि केराऊ फल्ने ठाँऊकै होलान् त’ ,उहाँले भन्नुभयो, ‘सूर्य थापालाई लगाइदिनुपर्ने तिनिहरुलाई नलाई दिनुपर्ने कारण त थिएन होला नी ?’ जनताले आफ्नो मनमुटुमा राखेको नेता सम्झेर त्यसै ढङ्गको व्यवहार गरेको उहाँको प्रतिक्रिया छ ।

 

‘जनताको चोखो मायाको माला गलामा र शिरमा सजाएर जनताका वीचमा छौ ।’ ,उम्मेदवार थापाले भन्नुभयो, ‘जनताले लगाइदिएको हरेक माला जनतालाई नै लगाइ दिने गरेको छु ।’ जिल्लाका सबै वडामा चुनावी अभियान लिएर चार फन्को लगाएको भन्दै उहाँले विजयको झझल्को हुने गरी जनताको माया पाएको उल्लेख गर्नुभयो ।

 

प्रतिष्पर्धीहरुले सोसल मिडियाको सदुपयोग गर्न नजानेकोले मालाको विषयलाई विवादको विषय बनाउन खोजेको उहाँको बुझाई छ । राजनीतिक जनतासँग जोडिएर कसरी गर्न सकिन्छ भन्ने आफुबाट सिक्न उहाँले प्रतिष्पर्धीहरुलाई सुझाउनुभयो । ‘विरोधीहरु यसो नगरे हुन्थ्यो भन्छन् ।’ ,उहाँले भन्नुभयो, ‘म नाँच्न थाले, अरुले खुट्टा उचाल्न थाल्छन् ।’ देशभर चुनावी प्रचारका कार्यक्रम भैरहेका वेला माला र आफ्नो प्रचार शैलीले सबैको ध्यान प्यूठानमा रहेको उहाँको भनाई छ ।

 

उम्मेदार थापाले चुनाव प्रचारका क्रममा डाको बुन्दै गरेको, डकर्मीसँगै काम गरिरहेको, मकैं ओसाउन लागेको, मकैं भुटेको, जाँतो पिसेको, तरकारी केलाएको, रोटी बनाएको लगायतका गतिविधिहरु सामाजिक सञ्जालमा चर्चामा छ । निर्वाचनको प्रचारप्रसारका लागि तोकिएकै समय भित्र जिल्लाका सबै वडा वस्तीहरुमा पुगेको उहाँले जानकारी दिनुभयो ।