> समाज > निर्वाचनका लागि प्यूठानमा १ हजार ३८२ कर्मचारी परिचालन हुँदै


निर्वाचनका लागि प्यूठानमा १ हजार ३८२ कर्मचारी परिचालन हुँदै

प्यूठान । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक सामाग्री जिल्ला आईपुगेको र कर्मचारी व्यवस्थापनको कार्य भईरहेको छ ।

 

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई अभिमूखिकरण प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका प्रमुख पदम बहादुर डाँगीले जानकारी दिनुभयो । दुई चरणमा गरी ४६४ जना अधिकृतहरुका लागि अभिमूखिकरण कार्यक्रम गरिएको उहाँले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रमा खटिने कर्मचारीका लागि नियूक्ति पत्र प्रदान गर्ने तयारी छ ।

 

जिल्लामा २३० मतदान केन्द्र र २ अस्थायी केन्द्रमा १ हजार ३८० कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । निर्वाचनका लागि आवश्यक सामाग्रीहरु निर्वाचन अयोगवाट जिल्लामा प्राप्त भईसकेको प्रमुख डाँगीले बताउनुभयो । कार्यालयका अनुसार १८ गते साँझसम्म कर्मचारीहरु मतदान स्थल पुग्नेछन् ।