> राष्ट्रिय > चुनावलाई संघर्षको मोर्चाको रुपमा लिएका छौ : विप्लव


चुनावलाई संघर्षको मोर्चाको रुपमा लिएका छौ : विप्लव

प्यूठान । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले यसपटकको निर्वाचनलाई संघर्षको मोर्चाको रुपमा उपयोग गर्ने बताउनुभएको छ । बिहिवार प्यूठानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनताको आवाज संसदमा उठाउनका लागि चुनावको प्रयोग गर्न लागिएको उल्लेख गर्नुभयो ।

 

चुनावमा जबरजस्त कसैलाई जिताउने र कसैलाई हराउने षडयन्त्र हुन लागेको भन्दै उहाँले शंका व्यक्त गर्नुभयो । सेना दिवसको अवसरमा टुडिखेलमा अमेरिकी सेनाको उपस्थिति घटनाले शंका पैदा गरेको बताउनुभयो । ‘सेनाको उपस्थिति हुने सामान्य प्रचलन त रहेछ’ ,उहाँले भन्नुभयो, ‘अमेरिकाले नेपाललाई सैनिक अखडा बनाउन खोजेको देखियो ।’ साम्राज्यवादका विरुद्धमा कम्युनिष्ट पार्टीहरु वीच आफुहरुले चुनावी एकताको चाहना राखेपनि उनीहरुको घमण्डका कारण सफल हुन नसकेको उहाँको भनाई थियो ।

 

जेनजी विद्रोह पछि अन्तरिम सरकार बन्नुपर्छ भन्ने माग सरकारसँग राखेकै कारण आफुहरु माथि आक्रमण भएको महासचिव विल्पवले उल्लेख गर्नुभयो । ‘सर्वपक्षिय अन्तरिम सरकार बन्नुपर्छ भन्दा हाम्रा कम्युनहरुमा आक्रमण भयो ।’ ,उहाँले भन्नुभयो, ‘कम्युनहरुमा फलाएका आलुलाई बम भन्दै दुष्प्रचार गरियो, चुनावमा आउन नदिन सरकारले षडयन्त्र ग¥यो ।’

 

भ्रष्टाचार विरुद्ध भएको जेनजी आन्दोलन असफल बनाउन खोजिएको उहाँले बताउनुभयो । भ्रष्टाचारीलाई कारवाही गर्ने, संविधान संशोधन मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख छान्ने जस्ता एजेण्डा असफल हुँदै गएको र वास्तविक जेनजी आन्दोलनकारी अझै सडकमै रहेको महासचिव विप्लवको भनाई छ । नेपालमा भएका संघर्षहरुले राजनीतिक सफलता हाँसिल गरेपनि जनताका अधिकार स्थापित हुन नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘कांग्रेस, एमाले, माओवादीहरुले गरेको सघर्षहरु सफल भएनन् । गणतन्त्र, संघीयता र समावेशीता जस्ता केहि राजनीतिक सफलता भए’ ,उहाँले भन्नुभयो, ‘तर नेपाली जनताले अधिकार पाउन सकेनन्, देश गरिवीको दिशामा अघि बढ्यो ।’

 

आफ्नो पार्टीले कम्युन मार्फत संचालन गरेको कृषि उत्पादनलाई औद्योगिक विकासमा अघि लैजाने उहाँले स्पष्ट पार्नुभयो । २०८४ मा हुने नियमित निर्वाचनमा २०८२ मा हुन लागेकोले यो चुनाव भ्रष्टाचार, राष्ट्रघाति दलाल र साम्राज्यवादी हस्तक्षपका विरुद्धको भएको महासचिव विप्लवको भनाई छ ।

 

१३० निर्वाचन क्षेत्रमा उम्मेदवार सहित चुनावी प्रचारमा जुटेको नेकपा (माओवादी)ले जनाएको छ । गुलाव चिन्ह लिएर प्यूठानबाट सीता विक (सम्झना) उम्मेदवार हुनुहुन्छ । विगतका निर्वाचनहरु बहिष्कार गर्दै आएको पार्टी पहिलो पटक चुनावमा होमिएको छ ।