> राजनीति > ‘रड र तार’ शरीरमा बोकेर चुनावी मैदनमा कृष्णध्वज खड्का


‘रड र तार’ शरीरमा बोकेर चुनावी मैदनमा कृष्णध्वज खड्का

प्यूठान । माओवादी युद्धकालीन समयमा सैनिक यातनाले घाईते भएका कृष्णध्वज खड्का शरीरमा ‘रड र तार’ बोकेर चुनावी मैदानमा हुनुहुन्छ । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उहाँ प्रतिनिधि सभा सदस्यका लागि प्यूठानबाट उम्मेदवार बन्नुभएको हो ।

 

तत्कालिन नेकपा (माओवादी)ले गरेको सशस्त्र युद्धका क्रममा उहाँ २०५८ सालमा काठमाण्डौंबाट गिरफ्तार हुनुभयो । ‘काठमाण्डौंबाट श्रीमान्–श्रीमति नै गिरफ्तारमा प¥यौं ।’ ,विगत सम्झदै उहाँले भन्नुभयो, ‘कठोर यातानसँगै कहाँ–कहाँ पु¥याए थाहा छैन, वर्दबहादुर गण गोरखाबाट एक वर्षपछि छुट्यौं ।’ उहाँसँगै पार्टी नेतृ समेत रहनुभएकी श्रीमती रेखा शर्मा गिरफ्तामा पर्नुभएका थियो । त्यहि यातनाका वेला घाईते भएका खड्काको शरीरमा अहिले पनि रण र तार छन् । कम्मर र करङको हड्डी फ्याक्चर भएको र अहिले पनि हातमा रण र दायाँ खुट्टामा तार बाँधेरै हिड्नु परेको उहाँले बताउनुभयो ।

 

प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका बन्नुभएका उहाँ २०७४ मा भएको निर्वाचनमा बाम गठबन्धनका तर्फबाट प्यूठान प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट विजयी हुनुभयो । लुम्बिनी प्रदेश सरकारको अर्थ तथा सहकारी मन्त्री समेत बन्नुभएका उहाँलाई मन्त्री कार्यकालमा साना र टुक्रे योजना बनाएर कार्यकर्तालाई वितरणमुखी योजना बनाएको आरोप छ ।

 

२०३५÷३६ सालमा भएको जनमत संग्रहकै समयदेखि उहाँ राजनीतिमा जोडिनुभएको हो । राजनीतिमा सक्रिय भएकै कारण उहाँ पटक–पटक हिरासतमा पर्नुभयो । २०४६ सालमा बहुदलिय व्यवस्था आउँदा समेत हिरासतमै हुनुहुन्थ्यो । बहुदल पछि छुट्नुभयो । २०५१ सालमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष हुनुभयो । २०५४ सालमा जेलबाटै उहाँ अखिल क्रान्तिकारीको दोश्रो कार्यकालको लागि अध्यक्ष चुनिनुभयो । बामपन्थी राजनीतिक सिद्धान्त, सामाजिक न्याय र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर नेताको छवि बनाएका उहाँ संगठन विस्तार र कार्यकर्ता परिचालनमा सक्रिय हुने गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता अर्जुन कुमार कक्षपतीले बताउनुभयो ।

 

कृष्णध्वजलाई पुष्पकमल दाहाल प्रचण्डको विश्वास पात्रको रुपमा मानिन्छ । शान्ति प्रक्रियालाई अघि बढाउनका लागि प्रचण्डले अन्य राजनीतिक दल र दरवारका प्रतिनिधिहरुसँग वार्ताका लागि पठाउने गरेको पुराना माओवादी नेताहरु सम्झन्छन् ।

 

जनयुद्धकालीन समयमा पार्टीले अघि सारेका राजनीतिक एजेण्डाहरु सम्झौतामा विलिन भएको कृष्णध्वजको बुझाई छ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्दै उहाँले चुनावी कार्यक्रमलाई सम्बोधनका क्रममा भन्नुहुन्छ्, ‘यो नाफाको जिन्दगी हो, जनताकै सेवामा व्यतित गर्नेछु ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित