> राष्ट्रिय > ९२ वर्षीय कम्युनिष्ट नेता मोहन विक्रम सिंहको चुनावी सक्रियता


९२ वर्षीय कम्युनिष्ट नेता मोहन विक्रम सिंहको चुनावी सक्रियता

प्यूठान । ९२ वर्षको उमेरमा पनि मोहन विक्रम सिंह चुनावी प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)को महामन्त्रीका रूपमा उहाँले नेतृत्व गरिरहेको पार्टीले यसपटक पनि आफ्नै चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाका मार्फत चुनाबी प्रतिष्पर्धामा छ ।

 

पञ्चायतकालमा प्रतिबन्धित अवस्थामा पनि भूमिगत रूपमा पार्टी सञ्चालन गर्दै आउनुभएका सिंह चार दशकभन्दा बढी समयदेखि नेतृत्वमा हुनुहुन्छ । विगतका निर्वाचनमा प्रत्यक्ष रूपमा मत माग्न कमै देखिने सिंह अहिले मतदातासँग भेटघाट र चुनावी सभामा सक्रिय देखिनुहुन्छ । प्यूठानको दौडधूपपछि उहाँ अहिले बाग्लुङमा चुनावी कार्यक्रममा व्यस्त हुनुहुन्छ ।

 

बाग्लुङमा राष्ट्रिय जनमोर्चाले प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग चुनावी तालमेल गरेको छ । यहाँबाट पटक–पटक निर्वाचित हुनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहनुभएका चित्रबहादुर केसी यसपटक प्रत्यक्ष उम्मेदवार नभई समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा हुनहुन्छ । बाग्लुङमा पार्टीले कृष्णप्रसाद अधिकारीलाई उम्मेदवार बनाएको छ, जसलाई नेकपाले समर्थन गरेको छ । अधिकारी विद्यार्थी संगठनमा सक्रिय हुँदै राजनीतिमा होमिदै पार्टीको नेतृत्व तहमा रहेर भुमिका निर्वाह गरेका नेता हुनुहुन्छ ।

 

प्यूठानमा भने पार्टीले तिलकबहादुर जिसीलाई उम्मेदवार बनाएको छ। २०७० मा समानुपातिक सांसद दुर्गा पौडेल २०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार भई प्यूठानबाट निर्वाचित हुनुभयो । २०७९ मा पाँचदलीय गठबन्धनबाट उठ्दा पराजित हुनुभयो । पटक–पटक श्रीमतीलाई उम्मेदवार बनाएको भन्दै सिंहको आलोचना समेत भएको थियो ।

 

राष्ट्रिय जनमोर्चाले गणतन्त्र पूर्णरूपमा संस्थागत नभएको र संघीयता नेपालका लागि आवश्यक नरहेको धारणा अघि सार्दै आएको छ । अहिले चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सिंहले अमेरिकाबाट परिचालित भएको आरोप लगाउँदै राजनीतिक स्थायित्वको आवश्यकता औंल्याउँदै आउनुभएको छ ।

 

उमेरले विश्राम लिनुपर्ने समयमा पनि देश, राजनीति र विचारप्रति उहाँको निरन्तर सक्रियता धेरैका लागि प्रेरणाको स्रोत बनेको प्रगतिशिल पत्रकार संघ प्युठानका उपाध्यक्ष जुसमानसिंह केसीको भनाई छ । ‘सादगी जीवनशैली, अध्ययन गर्ने बानी र राजनीतिक क्रियाशिल साँच्चिकै उदाहरणीय छ’ ,उहाँले भन्नुभयो, ‘यो उमेरमा समेत देशको भविष्य प्रति चिन्ता गर्ने उहाँको बानीले पार्टीका नेता कार्यकर्तालाई ऊर्जा मिल्ने गरेको छ ।’