प्यूठान । जिल्लामा माघ महिनामा २५ वटा अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानको माघ महिनाको कार्यप्रगति विवरण अनुसार घटना दर्ता भएका हुन् ।
भवितव्य ज्यान सम्बन्धी २, फुटकर ज्यान ३, झुण्डिएर आत्महत्या ६, जबरजस्ती करणी १, सवारी ज्यान २ र सवारी भवितव्य ज्यान १, बैकिङ्ग कसुर ३, अभद्र व्यवहार २, ज्यान मार्ने उद्योग १, हातहतियार तथा खरखजाना सम्बन्धि कसुर १, वेवारिसे जन १ र कर्तव्य ज्यान २ गरी २५ वटा घटना जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरिक्षक हरि भट्टराईले जानकारी दिनुभयो । झुण्डिएर आत्महत्या गर्ने घटना सबैभन्दा बढि देखिएको छ । कार्यालयका प्रहरी निरीक्षक भट्टराईलका अनुसार १८ वर्ष उमेर भन्दा कमका १ जना, १८ देखि ३९ वर्ष उमेरका २ जना, ४० देखि ५९ वर्ष उमेरका १ जना र ६० वर्षभन्दा माथिका २ जनाले आत्महत्या गरेका हुन ।
माघ महिनामा कार्यालयमा ६५ वटा ठाडो उजुरी परेकोमा ४६ वटा फछ्र्याैट भएका छन् भने १९ वटा फछ्र्याैट हुन बाँकी छन् । यो अवधिमा ९ वटा सवारी दुर्घटनाका घटना भएका छन् । जसमा ३ जनाले ज्यान गुमाएका छन् भने ११ जना घाईते भएका छन् । ३७० प्रहरी चेकिङ्ग कार्वाहीबाट ४ लाख ३६ हजार रुपैंया राजस्व संकलन गरिएका छ ।
