प्यूठान । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले प्यूठान अस्पतालको न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा अनुगमन गरेको छ । अनुगमनमा देखिएका बिषयमा बिहिबार एक कार्यक्रमका बीच समिक्षा गरिएको छ ।
मुल्यांकन तथा अनुगमनमा देखिएका सकारात्मक प्रयास र सुधार गर्नुपर्ने बिषयमा अनुगमन प्रमुख डा.जगन्नाथ तिवारी प्रस्तुति राख्नुभयो । डिउटी रोस्टर राख्ने, बिरामीको प्रकृति अनुसार सम्बन्धित चिकित्सक कहाँ पठाउने तरिका, सेवाग्राही प्रतिक्षा कक्ष, अपरेसन कक्ष, बिमा सेवाको कार्यान्वयन, मेडिकल अफिसरबाट इमर्जेन्सी सेवा, प्रसुती सेवा, बैकल्पिक उपकरण सहितको ल्याबसेवा, सशुल्क तथा निशुल्क फार्मेसी सेवा, ओसिएमसी युनिट सकारात्मक पक्ष रहेको तिवारीले बताउनुभयो । साँघुरो ठाउँबाट सेवा दिनु परेकोले पर्याप्त कक्ष नभएको, सेवाप्रवाहको सामाजिक परिक्षण गर्नुपर्ने, अस्पताल भित्रै रक्तसंचार सेवा संचालन हुनुपर्ने लगायत सुझावहरु उहाँले राख्नुभयो ।
पहिले पुर्व सूचना दिएर अनुगमन हुने गर्दथ्यो तर यसपटक भने मन्त्रालयबाट पुर्व सूचना बिनै अनुगमन भएको निमित्त मेडिकल सुररिटेण्डेन डा. सुवास पौडेलले बताउनुभयो । यो आठौं पटकको अनुगमन हो । २०७३ सालमा ५० बेडको स्वीकृत भए पनि ६१ बेड सहित विभिन्न बिभागहरु संचालनमा रहेको अस्पतालले जनाएको छ ।
अस्पताल बिकास समितिका अध्यक्ष बिजयबिराज बिष्टको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख बिष्णु योगी, पत्रकार महासंघका अध्यक्ष श्रीराम भण्डारी, लायन्स क्लबका अध्यक्ष नवीन कुमार श्रेष्ठ, रेडक्रसका सभापति गुमानराज पुलामी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
