प्यूठान । नेकपा (एमाले)का नेता सूर्य थापाले प्यूठानबाट उम्मेदवारी दिनुभएको छ । प्रतिनिधि सभा सदस्यका लागि मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगा पुगेर मनोनयन गर्दा गराउनुभएको हो ।
जेनजीका नाममा भएको ध्वंसका कारण संसद विघटन भएको भन्दै उहाँले संसद पुनःस्थापनाको पक्षमा आफुहरु भए पनि निर्वाचनमा सहभागी हुने बताउनुभयो । आफुले चुनावताका गरेको प्रतिवद्धता कार्यान्वय चरणमा रहेकोले त्यसलाई पुरा गर्नका लागि फेरी उम्मेदवारी दिएको उहाँले स्पष्ट पार्नुभयो ।
पाँच दलिय गठबन्धनलाई परास्त गरेर आफु विजयी भएको स्मरण गर्दै उहाँले संसदमा प्यूठानको आवाज बुलन्द गर्न सक्ने हैसियतका साथ चुनावमा सहभागी भएको दावी गर्नुभयो ।
सहकारी छानविन समितिको संयोजकको भुमिका निर्वाह गरेकोले चुनावमा चुनौती थपिएको छ नी ? भन्ने पत्रकारको जिज्ञासामा उहाँले तथ्य प्रमाणका आधारमा गरिएको छानविन प्रतिवेदन पेश गरिसकिएकोले त्यस बारेमा जुनसुकै ठाँऊमा जति वेला पनि बहस गर्न तयार रहेको प्रतिक्रिया दिनुभयो ।
एक पटक परिक्षण भएको फेरी किन चुनावमा ? भन्ने जिज्ञासामा उहाँले आफु सांसद भएर प्रभावकारी भुमिका निर्वाह गरेको तर पटक पटक मन्त्री जनप्रतिनिधि भएर फेल भएकाहरु अहिले ठूला नेतासँग चुनाव लडेपछि चर्चामा आइन्छ भन्ने देखिएको आरोप लगाउनुभयो ।
