प्यूठान । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्यूठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वन डिभिजन कार्यालय प्यूठानमा कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको नियुक्ति र निर्वाचन सम्बन्धी प्रदेश स्तरीय अभिमुखिकरण सम्पन्न भए लगत्तै निर्वाचन सम्पन्न गराउने जिम्मेवारी आफुहरुमा आएको मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले बताउनुभयो । ‘निर्वाचन आयोगले हामीहरुलाई दुई दिनको प्रदेश स्तरीय अभिमुखिकरण दियो ।’ ,उहाँले भन्नुभयो, ‘एउटा झोला बाहेक केहि दिएन, ऐन निकामहरु पनि आयोगको वेवसाइटबाट डाउनलोड गरेर अध्ययन गर्दैछौं ।’ ५१ प्रतिशत काम निर्वाचन आयोगले सम्पन्न गरेको भन्दै उहाँले विगतका निर्वाचनहरुको अनुभवका आधारमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने विश्वास दिलाउनुभयो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा १५८ मतदान स्थल र २३० मतदान केन्द्र रहेका छन् । कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेको प्यूठान जिल्लामा करिव १ हजार ५ सय कर्मचारी र २ हजार ५ सय सुरक्षाकर्मी परिचालित हुने प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले बताउनुभयो ।
शान्तिपुर्ण, भयरहित र निष्पक्ष निर्वाचनको दायित्व जिम्मेवारपुर्वक पूरा गर्न शुभकामना दिँदै पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले सूचना सम्प्रेषणलाई छिटो र प्रभाबकारी बनाउन कार्यालयलाई अनुरोध गर्नुभयो ।
निर्वाचन प्रहरीका लागि समयावधि थप
निर्वाचन प्रहरीका दरखास्त दिने समायावधि थप गरिएको छ । माघ १ गतेसम्मका लागि समय तोकिए पनि आवश्यक मात्रामा दरखास्त नपरेको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानले दुई दिन समय थप गरेको छ ।
माघ २ र ३ गते सार्वजनिक विदा भए पनि दरखास्त दिन सकिने प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताउनुभयो । प्यूठानमा १ हजार ५ सय ३५ जना निर्वाचन प्रहरी भर्ना हुन्छन् ।
