प्यूठान । दुर्गा माध्यमिक विद्यालय नौबहिनी गाउँपालिका–४ खवाङले ६५ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।
दिवसको अवसरमा उत्कृष्ट नतिजा निकाल्न सफल शिक्षक मनोज जिसी, हिरा बहादुर झाँक्रि मगर, ऐसेलु पुन र कार्यालय सहयोगी यामबहादुर घर्तिलाई सम्मान गरिएको छ । विद्यार्थीका पढाईमा विशेष चासो र निगरानी गर्ने तीन जना अभिभावक, कक्षामा नियमित उपस्थिति हुने विद्यार्थी, अनुशासित विद्यार्थी, सफा वर्ष विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर थापा मगरले जानकारी दिनुभयो ।
छात्रबृत्ति कोष स्थापना
स्थापना दिवसको अवसर पारेर विद्यालयका पूर्व प्रधानाध्यापक स्व.चुमान सिंह जिसीको स्मृतिमा झिमरुक गाउँपालिका तुषारा निवासी छोराहरु हरि जिसी र डा.आकाश जिसीले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । १ लाख ११ हजार १५५ रुपैंयाको अक्षयकोषबाट प्राप्त हुने व्याज आगामी वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने तीन जना विद्यार्थीलाई प्रदान गरिनेछ । त्यस्तै विद्यालयका पूर्व विद्यार्थी प्रेम कुमारी थापा मगरले छात्रबृत्ति कोष स्थापनाका लागि ७२ हजार ३ सय १० रुपैंया सहयोग गर्नुभएको छ । छात्रबृत्ति कोष वापतको रकम हस्तान्तरण गर्दै छोरा पुरन सिंह थापा मगरले कोषलाई बृद्धि गर्दै लैजाने उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका अधयक्ष दिलबहादुर थापा, विशेष अतिथि उपाध्यक्ष विष्णा थापा र वडाध्यक्ष भिमबहादुर घर्ति मगर रहनुभएको थियो । विद्यालयको भौतिक, शैक्षिक र शिक्षकको स्तर बृद्धि बिकासमा स्थानीय सरकारले आवश्यक काम गर्दै जाने अध्यक्ष थापाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भवन उद्घाटन
स्थापना दिवसको अवसर पारेर विद्यालयमा नवनिर्मित ४ कोठे भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले भवनको उद्घाटन गर्नुभएको विद्यालयका प्रधानाध्यापक मीनबहादुर घर्ति मगरले जानकारी दिनुभयो ।




