प्यूठान । नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।
प्रतिनिधिहरुमा खुला तर्फ हरिप्रसाद रिजाल, विजय विराज विष्ट, तुल्सीराम शर्मा र नेगनसिंह कुवर रहनुभएको छ । युवा तर्फ श्रीधर रोका, दलित तर्फ झगबहादुर विश्वकर्मा, महिला तर्फ देवकीदेवी भण्डारी र दिपा पौडेल चयन भएको जिल्ला अध्यक्ष विजयविराज विष्टले जानकारी दिनुभयो । भुगोल, जातिय तथा लैंगिक सन्तुलनका साथै युवा प्रतिनिधित्व सुनिश्चित हुने गरी सर्वसम्मत प्रतिनिधि चयन गरिएको उहाँले बताउनुभयो ।
प्रतिनिधि छनौट हुनुभएका रिजाल भूमि आयोगका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । विष्ट एमाले प्यूठानका अध्यक्ष र शर्मा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व जिल्ला अध्यक्ष हुनुहुन्छ । कुवर जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । विश्वकर्मा प्रदेश कमिटीका सदस्य तथा सरुमारानी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ भने रोका प्रदेश कमिटी सदस्य तथा माण्डवी गाउँपालिकाका पूर्व अध्यक्ष हुनहुन्छ । प्रतिनिधि छनौट हुनुभएका पौडेल प्रदेश कमिटी सदस्य र भण्डारी जिल्ला कमिटी सदस्य हुन् ।
एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित काठमाडौंमा यहीँ मंसिर २७ देखि २९ गतेसम्म हुने पार्टीको ११ औ महाधिवेशनका लागि प्रतिनिधि छनौट गरेको हो ।
