प्यूठान । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि संकलन गरिएको मतदाता नामावलीमा ३ हजार ५ सय ९० नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय प्यूठान मार्फत १ हजार १ सय ५७ र राष्ट्रिय परिचय पत्रका आधारमा अनलाईन मार्फत २ हजार ४ सय ३३ जनालाई मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालय प्रमुख पदमबहादुर डाँगीले बताउनुभयो । राष्ट्रिय परिचय पत्रका आधारमा अनलाईन फर्म भरेकाहरुको विवरण रुजु गर्ने कार्य भैरहेको उहाँले जानकारी दिनुभयो ।
आगामी निर्वाचनलाई लक्षित गरि प्यूठानबाट मतदान स्थल तथा केन्द्रहरु हेरफेरका लागि आयोगमा सिफारिस गरिएको छ । मल्लरानी गाउँपालिका, स्वर्गद्धारी नगरपालिका र ऐरावती गाउँपालिकामा नयाँ मतदान स्थल थप गर्नका लागि सिफारिस गरिएको कार्यालय प्रमुख डाँगीले बताउनुभयो । आयोगको निर्णय अनुसार मतदाता संख्याका आधारमा मतदान केन्द्रहरु थपघट हुने उहाँले बताउनुभयो ।
यसअघि जिल्लामा १ लाख ६१ हजार ६८० मतदाता रहेका छन् ।
