प्यूठान । पर्यटन प्रबर्द्धनका लागि गौमुखी गाउँपालिका क्षेत्रका ४१ वटा गन्तवय छनौट गरिएको छ । गाउँपालिका स्तरीय पर्यटन प्रबर्द्धन समितिको बैठकले ४१ गन्तव्य छनौट गरि गौमुखी भ्रमण वर्ष २०८२ लक्षित गरी प्रबद्र्धनात्मक कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको हो ।
पालिका भित्र पर्यटकीय सम्भावना बोकेका प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक स्थानहरु छनौट गरि त्यसको प्रचार प्रसार र विकासका गतिविधिहरु सचालन गर्न बैठकबाट योजना तयार गरिएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । सरोकारवालाहरुको सुझावमा गन्तव्यहरुलाई थप परिस्कृत गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
झिमरुक नदिको उद्गम स्थल गौमुखीलाई केन्द्रमा राखेर यहाँको प्राकृतिक सौन्दर्यतासँगै पर्यापर्यटन, धार्मिक तथा सास्कृतिक महत्वका क्षेत्रलाई प्राथमिकतामा राखेर पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु संचालन गर्ने पालिकाले जनाएको छ ।
बैठकमा सहभागीहरुले प्यूठानको स्वर्गद्धारी आउने पर्यटकहरुलाई गौमुखी हुँदै अर्घाखाँचीको सुपादेउराली, बाग्लुङको कालिका भगतवती, गुल्मीको रेसुङ्गासँगै ढोरपाटन र मुक्तिनाथसँग जोड्न आवश्यक पूर्वाधार विकासमा जोड दिएका थिए ।
पालिका क्षेत्र भित्रका पर्यटकीय महत्व बोकेका क्षेत्रहरुको प्रचार प्रसारका लागि जानकारी मुलक पुस्तिका, होर्डिङ बोर्ड तथा डिजिटल सूचनाका साधनहरुको अधिकतम उपयोग गरिने उपाध्यक्ष रानाले बताउनुभयो । भिडियो डकुमेन्ट्री निर्माण, भिडियो प्रतियोगिता, पर्यटन महोत्सव, खेलकुद तथा दौड प्रतियोगिता लगायतका कार्यक्रम संचालन गर्ने बैठकले निर्णय गरेको छ ।
यहाँ आउने पर्यटकहरुलाई लक्षित गरेर स्थानीय उत्पादनका परिकारहरु, कृषि, हस्तकला तथा घरेलु उद्यमबाट उत्पादित बस्तुहरुको बजारीकरणका माध्यमबाट स्थानीयको आयआर्जन बढाउने योजनाहरुको कार्यान्वयनमा समितिका सयोजक तथा गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले जोड दिनुभयो । चाडपर्व विशेषका सांस्कृतिक गतिविधि, खेलकुद प्रतियोगिताहरुलाई भ्रमण वर्षसँग जोडेर संचालन गर्ने गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।
यी हुन् ४१ वटा पर्यटकीय गन्तव्यहरु :
१) गौमुखी
२) तामेश्वर महादेव (शिव मुर्ति)
३) लामो झोलुङ्गे पुल
४) झिमरुक नदिमा बनेको पहिलो झोलुङ्गे पुल
५) कैलाश दह
६) तामाङ्ग गुम्वा
७) डुङ्गडुङ्ग गुफा
८) वाईसमुल झरना
९) दुईबहिनी लेक
१०) सानो नाङ्गी
११) माझधारा झण्डीगाडे
१२) नाङ्गी
१३) लहरी
१४) रानीताल
१५) झाक्रीढुङ्गा
१६) तिखाचुली
१७) दहबसे
१८) पातिहाल्ना झरना
१९) किवी फर्म
२०) थामचौर
२१) दहका बगर झरना
२२) जुपाल धुरी
२३) तामाखानी
२४) गोद्रेचौर
२५) बाग्लिवाङ्ग कुडुला
२६) तारेभिर
२७) हिले
२८) सिन्कीपोखरी
२९) रुपाचौर
३०) टोप्रेगुफा
३१) ठाडोढुङ्गा
३२) भालुबस्ने ढुङ्गेबगैचा
३३) बुक्तिचौर
३४) देवी मन्दिर लिवाङ
३५) नयाँ पोखरा
३६) तपस्यावस्ने लेक÷दहीहाल्ना
३७) भुमेकाथान
३८) नारीकोट
३९) सुपादेउराली
४०) थामढिक
४१) लाकुरी पोखरा













