> आर्थिक/बिकास > स्थानीयको सक्रियतामा प्यूठानको भिंगृमा धमाधम सडक विस्तार हुँदै


स्थानीयको सक्रियतामा प्यूठानको भिंगृमा धमाधम सडक विस्तार हुँदै

प्यूठान । पूर्वपश्चिम राजमार्गको भालुवाङबाट प्यूठान हुँदै रोल्पा जोड्ने सडक खण्ड अन्तरगत भिंगृ बजार क्षेत्रमा सडक विस्तारको काम धमाधम चलिरहेको छ । पर्यटीय क्षेत्र स्वर्गद्धारीको आधार शिविर र स्वर्गद्धारी नगरपालिकाको केन्द्र भिंगृ बजार क्षेत्रमा सडक विस्तारको काम भैरहेको छ ।

 

सडक विस्तारमा स्थानीयले सक्रियता देखाएका छन् । सडक साँघुरो भएपछि स्थानीयलाई बाधा पुगेकोले उनीहरुकै सक्रियतामा सडक विस्तारको काम भैरहेको नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । ‘अनेत्र धेरै ठाँऊमा हेर्दा सडक विस्तारले धेरै फाइदा पुग्ने गरेको सबैले बुझ्यौं ।’ ,उहाँले भन्नुभयो, ‘विभिन्न निकायको सहयोगमा सडक विस्तारमा स्थानीयले पूर्ण सहयोग गर्नुभएको छ ।’ वडा नं. ४ को गोडिवाङदेखि इलाका प्रहरी कार्यालयसम्मको सडक विस्तारको काम भैरहेको हो ।

 

तीन मिटरको साँघुरो सडक विस्तारका लागि स्थानीयले सक्रियता देखाएपछि १० देखि १२ मिटरको चौडा गरिएको छ । सडक विस्तारको योजनामा सबैको उत्साहतपूर्ण सहभागीता रहेको स्थानीय रामप्रसाद श्रेष्ठले बताउनुभयो । ‘लिफ्टिङ प्रविधि मार्फत सडक क्षेत्रमा पर्ने सिंगो घर नै सार्ने काम पनि भयो ।’ ,उहाँले भन्नुभयो, ‘बैकल्पिक उपाए अपनाएर भएपनि सडक विस्तारमा सबैले सहयोग गर्दै आएका छन् ।’

 

सडक विस्तारले नयाँ तथा पुराना भवन सहितका भौतिक संरचनाहरुमा क्षति पु¥याए पनि जनप्रतिनिधि र स्थानीयहरुका सहयोगमा सडक विस्तार कार्य सम्भव भएको सडक डिभिजन प्यूठानका सूचना अधिकारी कमल पुनले बताउनुभयो । २०८० सालदेखि सडक विस्तारको काम भैरहेको छ ।

 

‘सडक चौडा गराउने, नाली बनाउने लगायतका स्टकचरको काम भैरहेको छ ।’ ,सूचना अधिकारी पुनले भन्नुभयो, ‘गोठिवाङ–बाँझिपुर र जिमुरपाटा–भिंगृ २ किलोमिटर सडक विस्तार गरि कालोपत्र गर्ने काम भैरहेको छ ।’ प्रयाप्त बजेट नभएकाले छुट्टाछुट्टै प्रोजेक्ट मार्फत सडक विस्तारको कामलाई अघि बढाइएको सडक डिभिजन प्यूठानले जनाएको छ । यो सडक विस्तारले प्यूठानको प्रमुख पर्यटकीय स्थल स्वर्गद्वारी र रोल्पा जिल्ला जाने यात्रुहरुलाई सहजता हुनेछ ।