प्यूठान । ग्रामीण जनजीवनसँग रमाउँदै पर्यापर्यटन र ट्रेकिङ मनपराउने पर्यटकहरुको लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ, प्यूठानको कोठिभिर । नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलिवाङमा अवस्थित यस स्थान समुन्द्री सतहदेखि ३ हजार ६५९ मिटर उचाईमा अवस्थित छ ।
ऋतु अनुसार छुट्टाछुट्टै प्राकृतिक सौन्दर्यताको आनन्द लिन सकिने यहाँ पछिल्लो समय पर्यटकको रोजाईको उत्कृष्ट गन्तव्य बन्न थालेको हो । ‘प्रविधिको विकाससँगै यहाँको प्रचार प्रसारले पर्यटकहरुको संख्या दिनदिनै बढ्न थालेको छ ।’ ,वडाध्यक्ष घनबहादुर बुढाले भन्नुभयो, ‘ ‘स्याउलिवाङ ठूलोगाउँसम्म मोटरबाटो पछि पर्यटकहरु बढेका छन् ।’ पर्यटकहरुको आधिकारिक लगत संकलन नभएपनि यस पटकको दशैं–तिहार विदामा करिव २ हजार जनाले यहाँको भ्रमण गरेको उहाँले अनुमान लगाउनुभयो । प्यूठान सहित छिमेकी जिल्लाहरु र दाङ, बुटवल जस्ता शहरी क्षेत्रबाट पर्यटकहरु आउने गरेको उहाँले बताउनुभयो ।
प्यूठानको बाग्दुलाबाट बाहाने, खवाङवेशी, बिरौटा हुँदै स्याउलिवाङको ठूलोगाउँसम्म २९ किलोमिटर मोटरबाटो पुगेको छ । यसपटक खलेसवाङ नजिकै रहेको नौबहिनी झरना हेर्न आउने पर्यटकहरुको संख्या समेत बढेको छ । ‘केहिले नौबहिनी मन्दीरको दर्शन गरी यहि झरना हेर्न आएको भन्दै झरना हेरेर फर्कनुहुन्छ ।’ ,वडाध्यक्ष बुढाले भन्नुभयो, ‘हिँड्न मनपराउनेहरु माथि शिरसम्म पुग्ने गर्नुभएको छ ।’ खलेसवाङबाट करिव ४ घण्टाको उकालो पैदलयात्रा पछि कोठिभिर पुग्न सकिन्छ । यहाँ घुम्न जाँदा खानेकुरा, पानी बोकेरै जानुपर्छ । ‘टपमा दाउरा समेत पाइएन भन्ने गुनासो छ, ५ सय मिटर तलबाट बोकेरै जानुपर्छ ।’ ,वडाध्यक्ष बुढाले भन्नुभयो । हिउँदको समयमा यहाँ हिऊँ पर्छ ।
ठूलोगाउँमा केहि सिमिति होटलले पर्यटकलाई आवास सुविधा दिए पनि यसभन्दा माथि भेडिगोठमा बस्नुपर्छ । बस्तीहरु नभएको क्षेत्र भएकाले परापूर्वकालदेखि नै असार–असोज महिनामा स्थानीयले बनाउने गोठमै पर्यटकहरुले रात विताउने गरेका छन् ।
भेडिगोठको जनजीवनको आनन्द लिँदै थरिथरिका लालीगुँरास, विभिन्न प्रजातिका फूलहरु, डाँफे, मुनाल, कालीज, घोरल, कस्तुरी, झारल, रतुवा, थार, भालु, बँदेल, बाघ, रेडपाण्डा जस्ता चराचुरुङ्गी र जनवारहरु देख्न पाइन्छ । यस क्षेत्रमा चिराइतो, पखानवेद, पाँचऔंले, सतुवा, जिम्मु, पदमचाल जस्ता बनस्पति पाइन्छ । कोठिभिरको शिरबाट धौलागिरी, माछा पुच्छ«े, अन्नपूर्ण हिमश्रृंखलाहरुको नजिकैबाट अवलोकन गर्न पाइन्छ ।
मानव निर्मित संरचना नभई प्राकृतिक आनन्द लिनका लागि कोठिभिर उपयुक्त गन्तव्य भएको स्थानीय डेम्स बुढा मगरले बताउनुभयो । अधिकांस जनजाति बस्ती भएकाले यहाँको कलासंस्कृति र अर्गानिक उत्पादनलाई बजारिकरण गर्नुपर्ने उहाँले बताउनुभयो । ‘स्वस्फूर्त रुपमा पर्यटकहरु आइरहनुभएको छ ।’ ,उहाँले भन्नभुभयो, ‘यसलाई स्थानीय सरकारले थप व्यवस्थित गर्ने हो भने बढ्दो शहरीकरण र कोलाहलबाट टाढा रहेर केहि समय आनन्द लिने ठाँऊको रुपमा विकास गर्न सकिन्छ ।’ कोठिभिरलाई केन्द्रीत गरेर स्याउलिवाङवासीको आयआर्जनमा समेत जोड्न सकेमा यसबाट स्थानीय पालिकाले आन्तरिक आम्दानी समेत गर्न सक्ने उहाँको भनाई छ ।
