प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानले राति १० बजेपछि दिउसी, भैलो, नाचगानका कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
शान्ति सुरक्षालाई मध्यनजर गर्दै भिडभाडजन्य गतिविधि गरि समाजको शान्ति सुरक्षामा खलल पुग्ने कार्य नगर्न नगराउन प्रशासनले आग्रह गरेको हो । सार्बजनिक सूचना जारी गर्दै प्रशासनले दिउसी भैलो कार्यक्रम गर्दा सार्बजनिक यातायात र जनजीवनमा असर नपर्ने गरि शान्तिपुर्ण, मर्यादित र अनुशासित रुपमा संचालन गर्न आग्रह गरेको हो ।
मदिरा सेवन गरि सार्बजनिक स्थानमा होहल्ला नगर्न र तिहारको समयमा मैनबत्ती, दियो बाल्दा साबधानी अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो ।
प्रशासनले पटाका लगायत प्रज्वलनशिल तथा बिष्फोटक पदार्थ ओसारपसार, बिक्री तथा प्रयोगमा निषेध गर्दै जुवा तास जस्ता खेल नखेल्न नखेलाउन अनुरोध पनि गरेको छ । सार्बजनिक अनुरोध बिपरित कार्य भएमा कानुनी कार्वाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।

