विजयसिंह भारती
एउटा पत्रकारको दैनिकी सधै समाचारका विषयमा चिन्तित भइ वित्छ । विहान उठेदेखि राति समाचारको विषय छनौट, खोज-अनुसन्धान, संकलन, लेखन, सम्पादनदेखि सञ्चार माध्यमबाट प्रकाशनसम्म अनवरत रुपमा खिटई नै रहनु पर्दछ। समाचार सामाग्री प्रकाशन भइसके पछि पनि त्यसले पार्ने प्रभावमा जवाफदेहि हुनुपर्ने भएकाले एउटा असल पत्रकारको मनमा सधै समाचार जन्य सामाग्रीले बास गरिरहेको हुन्छ ।
पृष्ठभुमि :
पत्रकारिताका शुरुका दिनहरुमा समाचारहरु समेत औपचारितामा सिमित हुन्थे । बताउनुभयो, सम्पन्न भयो, उहाँले भन्नुभयो’ अझ श्रोत खुल्न सकेन र पत्रकारलाई लागेको कुरा लेख्नु पर्यो भने ‘बताइन्छ’ भन्दै धमाधम समाचारहरु आइनै रहन्छन् । समाचारलाई अव औपचारिकतामा सिमित राख्नु हुदैन । त्यसैलाई पनि लेखन शैलिकै आधारमा अनौपचारिक बनाउन सकियो भने पनि समाचार विक्न सक्दछ । अहिले सूचना तथा प्रविधिको विकाससँगै सूचना मुलक समाचारहरुले आम सञ्चार माध्यममा प्राथमिकता नपाउन सक्छ । बढ्दो सञ्चारकर्मीहरुको भिडमा आफुलाई अब्बल सावित गर्नका लागि समेत समाचारमा गुणस्तरीयता अनिवार्य छ ।
के हो समाचार ?
झट्ट हेर्दा समाचार र सूचना उस्तै उस्तै लाग्न सक्छ । थाहा नभएको नयाँ कुरा नै समाचार हो । तर, समाचार हुनका लागि तीन वटा तत्व आवश्यक पर्छ।
१) महत्व
२) समसामयिक
३) निकटता।
त्यहि नयाँ कुरा तपाईका लागि महत्वपूर्ण भएन भने त्यो समाचार नहुन पनि सक्छ। महत्वपूर्ण गराउनका लागि त्यो समयसापेक्ष हुनु जरुरी छ भने निकटताका आधारमा पनि समाचारले महत्व राख्दछ । समाचार हामी वरपरकै क्षेत्रमा पाइन्छ। समाचार पहिचान गर्न सक्ने गुण समाचारदातामा हुनै पर्छ। त्यसैले भनिन्छ, ‘Nose For News’ I
प्रचलन
समाचारका विषयमा होत्तलिने भन्दा पनि रेडियोहरुमा समाचारको बुलेटिन समयमा सक्ने, पत्रपत्रिकाहरुका खालिठाँऊहरु भर्नका लागि मात्र समाचार प्रक प्रकाशन/प्रशारण गरेको देखिन्छ। हाम्रा वरपर हुने औपचारिक कार्यक्रमहरुलाई मात्र समाचार ठान्ने समाचारदाताहरुलाई ‘अल्छी’ गरेको भन्दा फरक नपर्ला ।
फलानोको अध्यक्षता, फलानोले कार्यक्रमको उद्घाटन गरे, कार्यक्रमा फलानो-फलानोले भाषण गरे जस्ता विषयबस्तुहरुले समाचारका ठाँऊहरु भरिएको देखिन्छ । परिवर्तित समयमा यसले पाठकहरुलाई समाचारको तिर्खा मेटाइरहेको छैन्। यस्तो समाचारहरु अहिले सचेत पाठक/दर्शक/श्रोतहरुले अनलाईन तथा सामाजिक सञ्जालमा छ्यापछ्याप्ती पाइन्छ । के एउटा असल पत्रकार अव यसैमा भुल्ने त ? पक्कै होइन ।
के होलान् समाचारका विषय ?
समाचारका विषयहरु के होलान्, के समाचार लेख्ने भन्ने चिन्ता लागि रहदा हामी समाचारको पछाडी दौडीन थाल्यौ भने त्यो हामीले लेखि सक्दासम्म समाचार नभई विज्ञापन पनि हुन सक्छ होस् गरौं । यदि समाचारका श्रोतहरुले दिएको सूचनालाई सहि ढङ्गले पहिचान र व्यवस्थापन गर्न सकेनौ भने पनि त्यो विज्ञापन भैदिन पुग्न । सचेत पलपलमा जरुरी छ ।
नेपालको सन्दर्भमा ६ सय बढि एफएम रेडियो, ६ हजार बढि पत्रपत्रिका, दुई दर्जन बढि टेलिभिजन, सयको हारहारमा अनलाईनहरु सञ्चालनमा छन् । सबै आम सञ्चार माध्यमहरुले धेरै भन्दा धेरै उपभोक्ताहरुको ध्यानाकर्षण नगराउन सक्छन् । १५ हजार बढि सञ्चारकर्मीहरु प्रत्यक्ष अप्रत्यक्ष पत्रकारितासँग जोडिएका छन्, समाचारसँग जोडिएका छन् । यो वीचमा हामी आफुलाई दरिलो ढङ्गले प्रस्तुत गर्नका लागि हाम्रा समाचार सामाग्रीहरु नै हुन् । समाचारका विषय खोज्नु भन्दा हाम्रै वरपरका विषय, घटनाहरुमा घोत्लिन सक्यौ र विषयको गहिराई सम्म पुग्ने प्रयास गर्यो भने थुप्रै समाचारका विषय भेटाउन मुस्किल पर्दैन ।
कसरी छान्ने लेखन विषय ?
समाचार दुईप्रकारले तयार गर्न’ पर्दछ ।
पहिलो मानव आवश्यकताका आधारमा । वर्तमान समयमा आम मानिसहरुलाई आवश्यकता पर्ने समयानुकुलका समाचार तयार गर्न’ पर्दछ । मौषमी समाचारहरु पनि तयार गर्न सक्छौं। चाडपर्व, वर्षात,
जाडोयाम, गर्मियाम, खेतिपाती, राष्ट्रिय राजनीतिक जस्ता विषयहरु कतिपय अवस्थामा उपभोक्ताहरुलाई कुन विषय आवश्यक छ, भन्ने विश्लेषणका आधारमा समाचार तयार गर्न सकिन्छ ।
दोश्रो, मानव अभिरुचिका आधारमा समाचार तयार गर्न सकिन्छ। यस्ता समाचारहरु सञ्चार माध्यममा प्राथमिकता पनि पाउछन् । समाचार धेरै विक्छ । पत्रकारलाई छोटो अवधिमै स्थापित पनि गराउछ । तर धेरै प्रचार पाउने नाममा समाचारलाई प्रपोगाण्डा बनाइनु पनि पत्रकारको धर्म होइन ।
हरेक घटनाका राम्रा नराम्रा दुवै पाटा हुन्छ। त्यसबाट हुने फाइदा र क्षति अनेकन् हुन्छन् । एउटा पत्रकारसँग घटनालाई फरक-फरक दृष्टिकोणले विश्लेषण गर्ने क्षमता राख्नु पर्दछ। कुनै एक विषयमा समाचार लेखि सक्यो भने पत्रकारले छुटकारा पाउन सक्दैन । त्यस समाचारको प्रभाव मुल्यांकन गरेर पुनः समाचार तयार गर्न सकिन्छ। त्यो समाचारको नियमित फलोअप गरेर पनि समाचारहरु तयार गर्न सकिन्छ । बदलिँदो परिसिथतमा समाचारका विषयहरु पनि परिवर्तन हुँदैन जान्छ। समाचारका विषयहरु कहिल्यै पनि सकिदैन । तर बदलिँदो परिस्थिति अनुसार हाम्रा समाचारको लेखन शैलि, विषयवस्तुको छनौट, प्रस्तुतीलाई पनि ख्याल गर्नुपर्छ । एउटै समाचारमा समाचारका थुप्रै पाटाहरुलाई एकै पटक प्रस्तुत गर्न हुँदैन। जस्ले समाचारका पाठकलाई अल्मल्याउँछ । घटना र विषयलाई एउटा समाचारमा एउटा दृष्टिकोणबाट मात्र प्रस्तुत गर्न सक्यौं भने हामीसँग समाचारका अन्य विषय पुनः लेख्नका लागि पनि हुन्छ, पाठकलाई सहजै बुझाउन पनि सकिन्छ ।
एउटा सञ्चारकर्मीलाई सम्पादकले समाचार लिएर आँउ भन्दा समाचारको ‘डेड लाइन’ पनि हुन्छ। त्यसैले यसलाई हतारको साहित्य पनि भनिएको होला। तोकिएकै समय भित्र हामीले हाम्रो समाचार तयार पारि सक्नु पर्दछ ।
प्रतिष्पर्धाको अहिलेको युग भनिन्छ । सूचना ‘इक्सक्लुसिप’ र ‘ब्रेकिङ’ गर्नेको होड पनि छ । पहिलो पटक आम सञ्चार माध्यममा पहिलो पटक प्रकाशन प्रशारणमा आएको विषय जो हर कोहिलाई थाहा छैन त्यस्तो विषय प्रस्तुत गर्न सञ्चार माध्यम र कर्मी दुवै उत्सुक हुन्छन् । जसले दुवैको उचाई बढाउछ, यस्ता विषय तर्फ पनि ध्यान दिनु पर्छ । त्यस्तै सूचनालाई सबैभन्दा पहिले दिनका लागि पनि दुवै पक्ष उत्तिकै सक्रिय हुन्छ। यी विषयमा हामी सधै चनाखो रहि रहनु पर्दछ ।
समाचार लेख्दा समाचारसँग जोडिएका आकर्षक फोटो, भिडियो वा आवाजले पनि उत्तिकै महत्व राख्दछ । जुन प्रमाणका रुपमा समेत हुन्छन् । सबैले, सधै हेरिरहेको दृष्यमा समाचार लुकेको हुन्छ भन्ने सधैं हेक्का राख्नु पर्दछ। दृष्यमा देखिएको जस्तो कथा भन्दा त्यस भित्र फरक पनि हुन सक्छ भन्ने आँकलन राख्नु पर्दछ। यसैवर्ष तराईका जिल्लाहरुमा भएको बाढि पहिरोले पुऱ्याएका क्षति बारे थुप्रै समाचारहरु आए। ज्यान गुमाएका एउटा बालकलाई गाँड्ने र जलाउने ठाँऊ समेत नहुँदा बाढिमै बगाएको तस्विरले धेरैको मन छोयो । यस्ता घटना भित्रका विविध पाटाहरुलाई पनि हामीले हेक्का गर्ने क्षमता राख्नु पर्दछ । समाचारका विषय त कत्ति छन् कत्ति, लेख्ने जाँगरमा भर पर्छ।
(लेखक नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका तत्कालीन सचिब हुनुहुन्छ । यो लेख साउन २०७४ मा प्रकाशित शाखाको मुखपत्र सूचनाबाट आज शाखाको २४ औं स्थापना दिवसको अवसरमा साभार गरिएको हो । – सम्पादक ।)













