> समाज > मरन्ठाना काेटघरमा दशै मेलासँगै बिबिध प्रतियोगिता हुँदै


मरन्ठाना काेटघरमा दशै मेलासँगै बिबिध प्रतियोगिता हुँदै

प्यूठान । प्यूठान नगरपालिका-१० पातिहाल्ना स्थित मरन्ठाना कोटघरमा महानवमी मेलासँगै बिबिध प्रतियोगिताहरु संचालन हुँदैछ । बिगतका वर्षहरुमा जस्तै खुल्ला नृत्य प्रतियाेगिता, घैटाेफाेर, रस्सा कस्सी प्रतियाेगिता लगायत साँस्कृतिक कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

 

यस्तो छ मरन्ठाना काेटघर इतिहास :
मरन्ठाना काेटघर (भुमेश्वरी देवस्थल काेट मन्दिर)  प्युठान नगरपालिका-१० पातिहाल्नामा अवस्थित छ । धार्मिक तथा पर्यटकीय महत्त्व बाेकेकाे यश शक्तिपीठमा भुरे टाकुरे राजाकाे पालादेखि हालसम्म अटुट रुपमा भुमे र खड्क देवताकाे नवदुर्गाकाे पुजा अर्चना हुँदै आएकाे छ ।

 

बडादशैकाे महानवमीमा बिशेष पुँजा गरी सराँय नाच प्रस्तुत गर्ने गरिन्छ । प्राचिनकालमा भुरेटाकुरे बाइसे चाैबिसे राजाहरुले राज्य गर्ने क्रममा एक अर्काकाे खतरा महशुस गरि सुरक्षित हुनकाे लागि सजिलै शत्रुहरुले हमला गर्न नसकुन भन्ने हेतुले यस टाकुरालाई राेजाइमा पारी बसाेवास गरेकाे पाइन्छ । उक्त समयमा शत्रुलाई हमला गर्नका निमित्त तयार पारेकाे हतियारहरु राख्नकाे लागि बनाइएको घर जसलाई काेत घर भन्ने गरिन्थ्यो । उक्त काेत घर समय अनुसार  उच्चारण, बाेलीमा फरक पर्न गइ काेत घरलाई काेटघर भन्ने गरिएको हो ।

रबिन बिश्वकर्मा

तत्कालीन समयमा काेट घरमा राखिएको ५ वटा हतियारकाे साथै २ वटा गाेलाे सिलामा देवता आफ्नाे रुप धारण गरे पश्चात् हरेक बर्षकाे महानवमीकाे दिन पुजा गर्ने प्रचलन चलाइएकाे स्थानीय जानकार बताउँछन् । दुर्गाकाे २ गाेलाे सिला जसलाई राजा महाराजाहरुले छेलाेकाे रुपमा प्रयाेग गरेकाे पाईन्छ । जुन छेलाे राजा महाराजाहरुले मरन्ठाना फाल्ने र उक्त छेलाे आफ्नाे शक्तिकाे कारण काेटघरमा फर्कि आउने गर्दथ्याे भन्ने किंवदन्ती रहि आएकाे छ । जुन सिला अहिले एक सावुत हालतमा रहे पनि अर्काे संरक्षणकाे अभावमा फुट्न गई अर्ध सिलाकाे रुपमा रहेकाे छ । तीनै २ वटा सिलालाई  प्रमुख देवताकाे रुपमा हाल पुजीदै आएकाे मुल पुजारी भिम बहादुर घर्तीमगरले बताउनुभयो ।

५ भाइ देवता मध्ये तत्कालीन समयमा काेटघरमा आगलागि भइ २ भाइ भागेर मध्ये रातमा सुर्यको ज्याेती जस्तै अकाशमा उज्यालो छर्दै हालकाे ठेगाना ऐरावती गाउँपालिका-६ बिजुलीकाेट गएकाे र  बाँकी ३ भाइ यसै स्थानमा बसेकाे भन्ने किवदन्ती छ । यहाँ रहेका ३ भाइ देवता आगाेमा जली कालाे भइ लाजले मन्दिरबाट बाहिर निस्कन नमान्ने गरेकाे किवदन्ती छ ।

धेरै बर्षपछि मरन्ठाना गहतेरा बस्ने काली बहादुर खड्काले खाेल ल्याएर लगाइदिदा देवताहरु खुशी भइ तत्कालीन पुजारी माेहन उप्रेतीकाे मुखार विन्दुमा चढि नागबेली बन्दै, `हामी पनि बिजुलीकाेटका देवता भन्दा कम शक्तिकाे हाईनाै आगलागी हुँदा हाम्रो दुई भाइ भागेर बिजुलीकाेट गए तर हामी हाम्रो जन्मभुमि छाेड्न नसकेको कारण जल्न पुग्यौं ।´ ,भनेका थिए ।

`आजसम्म हाम्रो पुँजा जसले गरेता पनि अब उपरान्त मगर पुजारीले पुजा गर्नुपर्छ´ ,भन्दै बकेकाे र पातिहाल्ना साेहि बस्तिका देव बहादुर घर्तीमगरकाे काँधमा गएका कारण देव बहादुर घर्तीमगरले पुजा गर्न थालेकाे इतिहास पाइन्छ । जसले गर्दा आजसम्म उनैका सन्ततीले विधिवत रुपमा पुजारीकाे भुमिका पूरा गर्दै आएका छन् ।

 

हाल भिम बहादुर घर्तीमगर, कृष्ण बहादुर खड्का मन्दिरकाे पुजारी र केशव पण्डित मन्दिरको बाहुन रहेका छन् । यस मन्दिरमा रहेका देवता एक भाइ भुमे र २ भाइ खड्का रहेका छन् । खड्का देवतालाई बलीकाे रुपमा पाडा, बाेका, भेडाकाे बली चढाउने गरिन्छ भने भुमे देवतालाई शान्तिकाे प्रतिक मानिने परेवा उडाउने प्रचलन छ ।

 

मन्दिरको पुर्वपट्टी भुरे राजाहरुले धान कुट्ने गरेकाे ओखल अहिले पनि देख्न सकिन्छ । त्यस स्थानमा कुटेकाे धान उडेर मरन्ठानाकाे माथिल्लो भेगमा पुग्ने हुँदा त्यस स्थानलाई भुषबाङ भन्ने गरेकाे पाइन्छ ।  ओखलकाे पुर्व पट्टी तत्कालीन राजाहरुले शत्रुलाई बन्दी बनाइ पछार्नकाे लागि ढुंगा प्रयाेग गरेकाे र पछार्दा बिचभाग दबेकाे भन्ने जनभनाइ छ । हाल यस स्थानमा पालु देवताकाे पुजा गर्ने गरिएको छ । यस मन्दिमा हरेक बर्ष बडा दशैकाे एकदिन अगाडि महानवमीमा पुजा अर्चना गरी सराँय नाच प्रस्तुत गरिन्छ । बडा दशै सुरु हुने दिने घटस्थापनाका दिन भक्तजन तथा स्थानीहरुले काेट घरकाे लागि भनी देवताकाे नाम पारेर छुट्टै जमरा राख्ने चलन छ । देवतालाई चढाएपछि मात्रै घरकाे जमरा लगाउने प्रचलन अनुसार स्थानीय तथा भक्तजनहरुले महानवमीमा बिशेष पुजा गरी जमरा, धजा, भेटी, चढाएपछि मात्रै बडा दशैकाे टीका थाप्ने प्रचलन छ  । यस  मन्दिरमा देवताकाे दर्शनगरी, वर मागेमा मागेकाे कुरा पूरा हुने जनविश्वास छ ।
(पुजारी भिम बहादुर घर्तीमगर, सचिव ओम बहादुर घर्ती मगर लगायत पुजारी तथा अन्य जानकारहरुसँगको कुराकानीमा आधारित ।)