प्यूठान । नेपाली भूमिमाथिको आफ्नो अधिकार प्रस्तुत गर्दा नेपालीहरूमाथि आक्रमण भएको नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सुर्य थापाले बताउनुभएको छ । चीनको सांघाई सम्मेलनमा राष्ट्रपति सि जिनपिङसँगको भेटमा केपी शर्मा ओलीले हिम्मतका साथ आपत्ति जनाउनुभयो, त्यसको सिधा प्रतिक्रिया र प्रतिशोधस्वरूप यो डढेलो लगाइएको उहाँको भनाई छ ।
संबिधान तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना बक्तब्य जारी गर्दै प्रतिनिधि सभाका निवर्तमान सदस्य थापाले राष्ट्र जलाएर खरानीको धन्दा संचालन भइरहेको यस विषम परिस्थितिमा सम्पूर्ण न्यायप्रमी, लोकतन्त्र र गणतन्त्र पक्षधर जनसमुदायमा सात दशक लामो संघर्षको नासो संविधानको रक्षा र संविधानसम्मत शासन संचालनमा एकताबद्द भई अघि बढ्न शुभकामना दिनुभएको छ ।
शुभकामना वक्तव्यको पुर्णपाठ :
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान जारी भएको एक दशक पूरा भएको अवसरमा म सबै न्यायप्रेमी सार्वभौमसत्तासम्पन्न नागरिक तप्कमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हामीकहाँ आज जननिर्वाचित संविधानसभाबाट निर्मित र जारी संविधान घाइते अवस्थामा छ।संविधानको मर्म र भावनाविपरित बनेको र संविधानले नचिन्ने मानिसहरूको सरकार छ, बिनाकसुर प्रतिनिधिसभाको बध र संहार गरिएको छ, संसद भवनको रक्षा गर्न नसक्ने र घुसपैठवाला निशानेवाज(सार्पसुटर)का कारण भड्काइएको हिंसा र नरसंहारको षडयन्त्र कुशलताका साथ मञ्चन भएको छ। केन्द्रीय सचिवालय सिंहदरबारमा विदेशीद्वारा परिचालित भरौटे आएर दनादन आगो झोंस्दा रमिते र मुदर्शक सेना छ। राष्ट्रिय सम्पत्तिमा आगो लगाइएर खरानी पारिंदासम्म हल न चल पारिएको जुद्द बारूण यन्त्र पनि छ र त्यसको नियन्त्रक र निर्देशक काठमाडौंको नगरप्रमुख भने निर्लज्जतापूर्वक काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो प्रतिनिधिसभा विघटनको असंवैधानिक र मालिकभक्तिको माग पूरा गराउने षडयन्त्रमा लिप्त र लिन छ। संविधानले सरकारी पदमा खटाउन निषेध गरेको तथा उमेरस्थितिले हिड्न, बोल्न, उठ्न र बस्नसमेत नसक्ने कठपुतली प्रधानमन्त्रीको नियुक्ति गरिएको छ। झण्डै पाँच खर्ब बराबरको सरकारी र निजी संरचना ध्वस्त पारिएको छ। माओवादी, रास्वपा, राप्रपा, मण्डलेकुण्डले र कतिपय स्थानमा नेपाली काँग्रेसका समेत नेता कार्यकर्ता नै यस आगजनीमा संलग्न रहेका दृश्य प्रमाण सार्वजनिक भइरहेका छन्।सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, बबरमहल, नेकपा(एमाले) र नेपाली काँग्रेसलगायत प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालय खरानी पारिएको छ।राप्रपा र रास्वपाका केन्द्रीय कार्यालयहरूचाहिं दुरूस्त रहेको दृष्टान्तले आगजनीमा योजनाबद्द रूपमा को परिचालित थियो भन्ने छर्लङ्ग भइसकेको छ ।
यस दुरूह तस्बिरको निष्कर्ष हो- जेन जी(१९९७-२०१२) बहाना र मोहरा मात्रै भएको छ।नेपालको भयावह विप्लव र वितण्डामा रिस, कुण्ठा, महात्वाकांक्षा र आवेगको नशा चढाएर आगोको पुल्ठो हातमा थमाई परिचाललन गरिएको राष्ट्रविरोधी षडयन्त्रकारीहरूको नाङ्गो संलग्नता रहेको तथ्य स्पष्ट भइसकेको छ ।
चीनको सांघाई सम्मेलनमा राष्ट्रपति सि जिनपिङसँगको शिष्टाचार भेटमा नेपाली भूभाग लिपुलेक-पास भएर दुई छिमेकीले गरेको व्यापारिक संझौताप्रति प्रधानमन्त्रीको हैसियतमा नेपालका देशभक्त नेता केपी शर्मा ओलीले जुन हिम्मतका साथ आपत्ति जनाउनुभयो, त्यसको सिधा प्रतिक्रिया र प्रतिशोधस्वरूप यो डढेलो लगाइएको छ। नेपालले नेपाली भूमिमाथिको आफ्नो अधिकार प्रस्तुत गर्दा नेपालीहरूमाथि यसढंगको कठोर कहर र सजायँ थोपरिनु वास्तवमा निन्दनीय र खेदजनक रहेको छ।
यतिबेला जननिर्वाचित सरकारलाई अपदस्थ गरी जेनजी पुस्ताको प्रतिक्रियामूलक प्रदर्शनमा घुसपैठ गरेका तत्वहरूले त्यस आन्दोलनको नेतृ्त्व, मर्म र भावनालाई हाइज्याक गरी शासनमा छद्मभेषी र संदिग्ध तत्वहरू हावी भइरहेका छन्। बडो रोचक परिदृश्य के छ भनें यसमा संविधानबमोजिम बनेर संचालित सरकारविरूद्द दिनदिनै असन्तुष्टिको आगो ओकल्न सक्रिय रहेका सबैको इच्छा, चाहना र आकांक्षा पूरा भएको छ। आत्मकेन्द्रित, मनोगत र स्वार्थी यस्ता तत्वहरू स्वयं अब प्रयोजनहीन भएर बिलखमन्दमा परिरहेका छन्।लोकतन्त्रको दुरूपयोग गरी व्यक्तिगत स्वार्थ पूरा गर्न तल्लीन तप्काले त गुमाएको केही पनि छैन, मालामाल र लाभान्वित नै भएको छ।
आफ्नो दुख र पौरखले आर्जन गरेको घरबाससमेत अकारण जलाइएर सुकुमबासी बन्न बाध्य पारिएका थुप्रै नेता, कार्यकर्ता र महानुभावहरूका निर्दोष हविगत आजको दुखद विडम्बना बनेको छ। आजीवन कष्टसाध्य संघर्षको माध्यमबाट समाज रूपान्तरणमा लागिपरेका र आज लुटपाट गरिएका तमाम योद्दाहरूलाई यसप्रकारको असभ्य र अपराधिक आक्रमण र आततायी क्रूरताको निशाना बनाइएकोमा खेद छ। म यसप्रकारका हर्कतहरूप्को निन्दा र भर्त्सना गर्दछु।इतिहासको यस कठीन क्षणमा लोकतन्त्रको विकल्प कुनै प्रकारको पपेटतन्त्र नहुने र हुन नदिने स्पष्ट प्रतिबध्दता पनि गर्न चाहन्छु ।
राष्ट्र जलाएर खरानीको धन्दा संचालन भइरहेको यस विषम परिस्थितिमा सम्पूर्ण न्यायप्रमी, लोकतन्त्र र गणतन्त्र पक्षधर जनसमुदायमा सात दशक लामो संघर्षको नासो संविधानको रक्षा र संविधानसम्मत शासन संचालनमा एकताबद्द भई अघि बढ्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।
सूर्यबहादुर थापा क्षेत्री
निवर्तमान संघीय प्रतिनिधिसभा सदस्य(प्युठान)
पोलिटव्युरो सदस्य, नेकपा(एमाले)
संविधान तथा राष्ट्रिय दिवस
३ असोज २०८२











